
आरुघाटमा ‘लामखुट्टेको लार्भा खोज र नष्ट गर’ अभियान संचालन
डेंगु रोग नियन्त्रणका लागि आरुघाट गाउँपालिकामा ‘लामखुट्टेको लार्भा खोज र नष्ट गर’ अभियान संचालन भएको छ । शनिवारबाट सुरु भएको अभियान अन्तरगत आरुघाट बजार क्षेत्रको बिभिन्न क्षेत्रमा सरसफाइ गरिएको स्वास्थ्य शाखा प्रमुख प्रविन थापाले बताए ।
‘मोटरसाइकल ग्यारेजमा राखिएका टायर र सार्वजनिक स्थानमा खुल्ला भाडामा रहेका पानी फाल्यौ,’ उनले भने, ‘आफ्नो घर वरपर सरसफाइ गर्न स्थानीयलाई सचेत पनि गरायौ ।’ आरुघाट आधारभूत अस्पतालदेखि बजारसम्मको बिभिन्न चोकमा सरसफाइ समेत गरिएको उनले जानकारी दिए । युवा क्लब, आमा समूह, स्वास्थ्यकर्मी, महिला स्वयसेविका लगायतको उपस्थितिमा सरसफाइ गरिएको बताइएको छ ।
डेंगु रोग नियन्त्रणका लागि शुक्रवार सरोकारवालाबीच अन्तरक्रिया कार्यक्रम समेत भएको पालिका स्वास्थ्य शाखाले जनाएको छ । अभियानलाई वडा स्तरमा पनि संचालन गर्ने तयारी भइरहेको स्वास्थ्य शाखा प्रमुख थापाले बताए ।




