| सोमवार, अशोज ११, २०८३

धार्चेमा विद्यालय समायोजन गरिएको भन्दै विरोध प्रदर्शन

धार्चे गाउँपालिका वडा नं. ६ र ७ का दुई विद्यालयका अभिभावकले आफ्नो विद्यालय अन्य विद्यालयमा समायोजन गरिएको भन्दै बिरोध गरेका छन् । वडा नं. ७ भीरकुनास्थित गंगाजमुना आधारभूत विद्यालयलाई कक्षा घटुवा गरी पाँच कक्षासम्म मात्र सञ्चालन गरिएको भन्दै अभिभावकले गाउँपालिका कार्यालयमा विरोध प्रदर्शन गरेका हुन् ।

त्यस्तै वडा नं. ६ चामखर्कस्थित चन्द्रदेवी आधारभूत विद्यालय इसिडीमा मात्र सीमित गरी कक्षा घटुवा गरेको बिरोधमा स्थानीयले विरोध प्रदर्शन गरेका हुन् । दुवै विद्यालयका अभिभावकहरुले आफ्नो विद्यालय साबिकझै सुचारु गर्न पाउनु पर्ने माग गरेका थिए ।

विद्यार्थी संख्या पर्याप्त हुँदाहुँदै पनि कक्षा घटुवा गरिएकोमा अभिभावकले बिरोध गरेका वडा नं. ६ का वडाअध्यक्ष धनकुमार घलेले जानकारी दिए । ‘हाम्रो चामखर्कमा ८२ घरधुरी छन् । चन्द्रदेवी आधारभूत विद्यालयमा कक्षा दुईसम्म सञ्चालन भएको थियो ।

विद्यार्थी संख्या ३६ जना थियो’, घलेले भने, ‘तर गाउँ शिक्षा समितिले नजिकको दुरी १२०० मिटरमा मञ्जुश्री मावि रहेको भन्दै इसिडीसम्म मात्र राखेर दुईवटा कक्षा खारेज गरिदियो । त्यसैले अभिभावकले विरोध गरेका हुन् ।’ चारबर्षअघि आफ्नै पहलमा चामखर्क आधारभूत विद्यालय स्थापना गरेको, लेस विस्तारित नामक संस्थाको सहयोगमा विद्यालय भवन, घेराबार, खानेपानी, सौचालयजस्ता संरचना बनाएको तर अहिले तह घटुवा गरी इसिडीमात्र कायम गरिएको भन्दै उनले दुख व्यक्त गरे ।

धार्चे ७ भीरकुनाको गंगाजमुना विद्यालयका अभिभावकले पनि तीनवटा कक्षा कटौती गरिएको भन्दै विरोध गरेका छन् । आठ कक्षासम्म सञ्चालित सो विद्यालयको कक्षा ६, ७ र ८ हटाएर कक्षा ५ सम्म मात्र सञ्चालन गर्ने निर्णय भएपछि गाउँलेहरु बिरोधमा उत्रिएका पूर्व वडाअध्यक्ष सूर्यमान गुरुङले जानकारी दिए । त्यहाँका कक्षा ६, ७ र ८ पढ्ने बालबालिकालाई नजिकको प्रभातकिरण आवासीय माविमा आवासीय सुविधासहित स्थापित गराउने निर्णय पालिकाले गरेको थियो ।

विरोध प्रदर्शनका क्रममा बुधबार केहीबेर प्रहरीसंग ठुमठेलसमेत भएको थियो । सार्वजनिक सुनुवाइ कार्यक्रम भइरहेको ठाउँमा प्रदर्शनकारी भित्र पस्न खोजेपछि केहीबेर प्रदर्शनकारी र प्रहरी बीच तनाबको स्थिति देखिएको गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङ बताउँछन् ।

‘असन्तुष्ट रहेका दुई गाउँका बासिन्दाहरुलाई मैले बुधबार सार्वजनिक सुनुवाइ भएकाले कि मंगलबार आउनुस्, कि बिहिबार आउनुस् भनेको थिएँ, टेरेनन्’ गुरुङ भन्छन्, ‘हाम्रो कार्यक्रम भएकै बेला पारेर बिथोल्ने नियत राखेजस्तो गरी हलभित्र पस्न खोज्दा उहाँहरुलाई सुरक्षाकर्मीले रोक्दा तनाब भएजस्तो देखिएको हो ।’ पछि छलफल गर्दा चित्त बुझाएर फर्किएका उनले बताए ।

उनका अनुसार धार्चे गाउँपालिकाको हिउँदे सभाले गत पुस महिनामा नै विद्यालय समायोजन गर्ने निर्णय गरेको थियो । सो निर्णयअनुसार समिति गठन पनि गरिएको थियो । समितिले विद्यालय समायोजन गर्ने मापदण्ड तयार गरी तीन हप्ता लामो अध्ययन गरी समायोजन गर्नुपर्ने विद्यालय छनोट गरेको थियो । साथै गत असार १८ गते कार्यपालिका र गाउँ शिक्षा समितिको संयुक्त बैठकले पाँच वटा विद्यालय समायोजन गर्ने निर्णय गरेको थियो ।

‘सोही मापदण्डअनुसार वडा नं. ७ भीरकुनाको गंगाजमुना आधारभूत विद्यालय, पौटुको शान्ति आधारभूत विद्यालय, वडा नं. ३ को तातोपानी आधारभूत विद्यालय र वडा नं. ६ को चन्द्रदेवी आधारभूत विद्यालय समायोजन गरिएको हो’, शिक्षा शाखा प्रमुख पुष्पराज जोशीले भने, ‘कक्षा ८ सम्म सञ्चालन हुन कम्तिमा ८० जना विद्यार्थी हुनुपर्ने, एक विद्यालय र अर्को विद्यालय बीचको दुरी कम्तिमा दुई किलोमिटर हुनुपर्ने र एक विद्यालयबाट अर्को विद्यालयसम्म पुग्न कम्तिमा आधाघण्टा भन्दा धेरै समय लाग्ने हुनुपर्ने मापदण्ड बनाएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्