
मेसिनरी औजार चोरी गर्ने र चोरीको सामान किन्ने दुवै बिरुद्ध मुद्दा दर्ता
फर्निचर तथा घर निर्माणमा प्रयोग हुने मेसिनरी औजारहरु चोरी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । बारपाक सुलिकोट गाउँपालिका–४ का बिरु भन्ने सुकबहादुर गुरुङलाई सोमवार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार बिगत केही दिनदेखि गोरखा बजारका बिभिन्न फर्निचर तथा घर निर्माण स्थलबाट मेसिनरी औजारहरु हराएको भन्दै उजुरी पर्न थालेको थियो । खोजतालस गर्ने क्रममा सोमवार राती सुरेश सुनारको फर्निचरको मेसिन लगायतका केही औजारहरु जिल्ला सदरमुकामकास्थित सुकबहादुरको कोठामा फेला परेको प्रहरी निरीक्षक धु्रवप्रसाद शर्माले बताए ।
‘यही साउन १९ गते गोरखा नगरपालिका–८ मा मदनबहादुर आलेको निर्माणाधिन घरबाट ड्रिल मेसिन, ग्रेण्डर मेसिन लगायतका इलेक्ट्रिक सामानहरु चोरी भएको थियो,’ उनले भने, ‘ती सामानहरु पनि सुकबहादुरले चोरेर हिराबहादुर घर्ती मगरलाई बेचेको पाइयो ।’ चोरी गर्ने सुकबहादुर र चोरीको सामान किन्ने हिराबहादुर दु्वैलाई पक्राउ गरिएको उनले जानकारी दिए ।
सुकबहादुर सोमवार पक्राउ परेका हुन् भने हिराबहादुरलाई वुधवार पक्राउ गरिएको हो । पक्राउ परेका दुवै बिरुद्ध चोरी तथा डाका सम्बन्धी कसूर शीर्षकमा मुद्दा दर्ता भइ कारवाही प्रक्रिया अघि बढेको बताइएको छ । फेला परेका चोरीका सामानहरु प्रहरीले बरामद समेत गरेको छ ।




