
एक वर्षमा राहदानीबाट मात्र ५ करोड ७ लाख राजश्व संकलन
गत आर्थिक वर्ष २०८०/८१ मा जिल्ला प्रशासन कार्यालय गोरखाले राहदानीबाट सबैभन्दा धेरै ५ करोड ७ लाख ५६ हजार राजश्व संकलन गरेको छ । गत आव प्रशासनले ५ करोड १४ लाख ४ हजार राजश्व संकलन गरेको हो । राहदानीबाट मात्र कुल राजश्वको ९८.७ प्रतिशत रकम संकलन भएको कार्यालयले जनाएको छ ।
यस्तै, कार्यालयले न्यायिक दण्ड, जरिवाना र जफतबाट ४ लाख १५ हजार, प्रशासनिक दण्ड, जरिवाना र जफतबाट ७० हजार, हातहतियार नविकरण दस्तुर बापत १ लाख ४४ हजार, परिक्षा शुल्क बापत १४ हजार र अन्य शीर्षकहरुबाट ८ लाख रुपैँया राजश्व संकलन गरेको हो । कार्यालयले चालु तर्फ (प्रशासनिक खर्च) ३ करोड ५४ लाख ६७ हजार खर्च गरेको उल्लेख छ । यस्तै, पूँजीगत खर्च भने जम्मा २३ लाख १० हजार रहेको कार्यालयले सार्वजनिक गरेको विवरणमा उल्लेख छ । गत आव कार्यालयले विपद प्रभावितलाई राहत वापत मात्र रु २१ लाख रकम वितरण गरेको बताइएको छ ।
प्रशासन कार्यालयमा गत आर्थिक वर्ष १०३ वटा मुद्दाहरु दर्ता भएका छन् । यसैगरी ३५ वटा संस्था दर्ता भएका छन् भने ३५४ संस्थाहरु नविकरण भएको र ३ संस्थाको विधान संशोधन भएको कार्यालयले जनाएको छ । ८७ वटा हातहतियार नविकरण, ३ हातहतियार नामसारी र १ हातहतियार इजाजत प्रदान गरिएको उल्लेख छ ।
अघिल्लो आवमा वंशजको आधारमा ८ हजार ३५९ जनाले नागरिकता लिएका छन् भने ८ हजार १०८ जनालाई नागरिकता प्रतिलिपि प्रदान गरिएको कार्यालयको भनाई छ । बैबाहिक अंगीकृत नागरिकता ८, आमाको नामबाट नागरिकता जारी १३ र ५६ जनालाई गैरआवासीय नागरिकता प्रदान गरिएको कार्यालयको विवरणमा उल्लेख छ ।
यसैगरी, १२ हजार ४२९ जनाको ईपासपोर्ट फारम संकलन गरिएको, १२ हजार ८४२ लाई ईपासपोर्ट वितरण गरिएको र ३१६ जनालाई एमआरपी राहदानी वितरण गरिएको जिल्ला प्रशासन कार्यालय गोरखाले जनाएको छ ।




