| मङ्लबार, कार्तिक २४, २०८३

उत्तरी गोरखामा मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनको पहल सुरु

पछिल्लो समय बढ्दै गएको मानव र वन्यजन्तु बीचको द्वन्द्व व्यवस्थापनका लागि धार्चे र चुमनुव्री गाउँपालिकामा बिशेष कार्यक्रम लागू भएको छ । यूएसएआइडीको जल जंगल भन्ने कार्यक्रमसँग साझेदारी गर्दै स्वाँरा सघन गाउँ बिकास केन्द्रले उक्त कार्यक्रम लागू गरेको हो ।

केही महिनादेखि लागू भएको उक्त कार्यक्रमको पहिलो चरणमा बिभिन्न समूहलाई अभिमुखिकरण गर्ने काम भइरहेको संस्थाका कार्यकारी निर्देशक सिताराम श्रेष्ठले बताए । ‘चुमनुव्रीको सबै वडामा संरक्षण क्षेत्र व्यवस्थापन समिति रहेछ,’ उनले भने, ‘पहिलो चरणमा उनीहरुलाई नै अभिमुखिकरण गराइरहेका छौँ ।’ धार्चेमा भने सामुदायिक वन उपभोक्ता समूहलाई तालिम दिइरहेको उनले जानकारी दिए । तालिममा स्थानीय जनप्रतिनिधिहरुको पनि सहभागीता रहेको बताइएको छ ।

द्वन्द्व व्यवस्थापनका लागि पहिलो चरणमा परम्परागत वालीको सट्टा वन्यजन्तुले खासै नखाने वाली लगाउन प्रेरित गरिने संस्थाले जनाएको छ । ‘मकै, कोदो, गौ जस्ता परम्परागत वालीमा वन्यजन्तुले बढी नोक्सान गर्छ,’ संस्थाका कार्यकारी निर्देशन श्रेष्ठले भने, ‘त्यसको सट्टा बेसार, अदुवा, कागती, ड्रागन फ्रुट, किवी, ओखर, स्याँउ र अलैचीको खेती गरियो भने वन्यजन्तुले खासै नोक्सान गर्देन ।’

अर्काे गुलेलीले चरा मार्ने कार्यलाई निरुत्साहित गर्ने योजना संस्थाको छ । त्यसका लागि प्रत्येक वडामा ‘एन्टि पोचिङ समूह’ खडा गर्ने बताइएको छ । ‘मासुका लागि जो गुलेलीले चरा मार्दै हिड्छ उसँग गुलेली फिर्ता लिने र त्यो वापत उसलाई कुखुराको चल्ला पाल्न दिने र हुर्काएर त्यसको मासु खान प्रेरित गर्ने योजना पनि छ,’ श्रेष्ठले भने ।

विषादी प्रयोग गरेर माछा मार्ने प्रवृतिको पनि अन्त्य गरिने उनले जानकारी दिए । बिषादी प्रयोगभन्दा जाल हानेर माछा मार्ने कार्यलाई प्रोत्साहन गरिने उनको भनाइ छ । नेपाल सरकारको एक अध्ययनले उत्तरी गोरखाको धार्चे र चुमनुव्रीलाई वन्यजन्तु संरक्षणको अति संवेदनशिल क्षेत्र देखाएकाले सो क्षेत्रलाई लक्षित गरी कार्यक्रम संचालन गरिएको श्रेष्ठले बताए ।

पछिल्लो समय मानव वन्यजन्तु द्वन्द्व बढेको बताउँदै उनले थपे, ‘मानिसले लगाएको खाद्य वाली वन्यजन्तुले नोक्सान गर्ने, अनि वन्यजन्तुलाई मानिसले आक्रमण गर्ने र वन्यजन्तु मारेर तस्कर गर्ने गिरोह पनि संक्रिय हुने भएकाले यसको नियन्त्रणमा पनि यो कार्यक्रमले सहयोग गर्ने अपेक्षा गरेका छौ ।’

प्रतिक्रिया दिनुहोस्