
अनुगमन समितिद्धारा म्याद नाँघेका खाद्य सामग्री जफत
जिल्ला सदरमुकामका किराना तथा मसला पसलमा भेटिएका म्याद गुज्रेका खाद्यान्न सामग्रीहरु जफत गरिएको छ । बजार अनुगमनको क्रममा मंगलवार बजार अनुगमन समितिले सदरमुकामका केही पसलबाट उक्त सामग्री जफत गरेको हो ।
खाने तेल, दालमोठ, मसला, चियापत्ति लगायतका म्याद गुज्रेका खाद्यान्नहरु जफत गरिएको समिति संयोजक एवं जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत रविन्द्र घिमिरेले बताए ।
‘अनुगमनको क्रममा केही किराना तथा मसला पसलमा म्याद नाँघेको खाद्यान्नहरु पनि बेच्न राखेको पायौ,’ उनले भने, ‘ती खाद्यान्नहरु जफत गरेर ल्याएका छौ ।’ जफत गरिएको सामग्री प्रक्रिया अनुसार नष्ट गरिने उनले जानकारी गराए ।
समितिले गोरखा नगरपालिका–८ बराहमा संचालित गोरखा मिनिरल वाटर उद्योग, गैरसरकारी संस्था र केही किराना तथा मसला पसलमा अनुगमन गरेको थियो । अनुगमनका क्रममा मूल्यसूचि टाँस गर्न र पसलको सरसफाइमा ध्यान दिन समितिले सुझाव समेत दिएको छ ।




