
मौलिक संस्कृति र संस्कार जगाउने कार्यक्रम गर्नु महान
‘आचरण हराए संस्कार हराउँछ, संस्कार हराए संस्कृति हराउँछ, संस्कृति हराए राष्ट्र हराउँछ, यदि राष्ट्र हराएमा हाम्रो पहिचान रहन्न’ भन्ने तथ्यलाई कहिल्यै कसैले नकार्न सक्दैन । यो सत्य हो कि, संस्कृति नासिए सभ्यता नासिन्छ । विकास र संस्कृति भनेको विपरीत ध्रुवी विषय हुन् ।
जहाँ विकासको छिटा पर्न सुरु गर्छ, त्यहाँबाट संस्कृति भाग्न सुरु गर्छ । विकासको दुस्प्रभाव अहिले सबैभन्दा धेरै संस्कृतिमा परेको छ । जव गाउँमा विकास प्रवेश गर्छ, तब गाउँका रीतिथिति, चालचलन, मेलापर्व, रहनसहन, भेषभूषा, संस्कार, संस्कृति, बाजागाजा सबै दूर हुन्छन् । यसको दर्शक हामी जोकोही हौँ ।
धमाधम आधुनिकता भित्रिदै गर्दा सांस्कृतिक तथा धार्मिक धरोहरका रुपमा रहेका गाउँका ढुंगेधारा, पाटी, पौवा, ठाँटी, चौर, चौतारा अहिले नासिँदै गएका छन् । किल्ला, गढी, कोटहरु पनि नासिँदै छन् । अहिले नेपालमा स्थानीय, प्रदेश र संघ सरकार छ । तीनै तहको सरकारले प्राचीन सम्पदाहरुको जगेर्ना गर्ने पहल गर्नुपर्छ । यसैलाई मनन गरी धार्चे गाउँपालिकाले चुट्का संरक्षणको पहल थालेको छ । गाउँपालिकाले धार्चे तमु समाज नामक सामाजिक संस्थामार्फत चुट्का(कौरा) गीत तथा नाचको संरक्षण सुरु गरेको हो ।
पालिकाले नयाँ पुस्तालाई चुट्का, कौरा सिकाउन यसको प्रशिक्षण कार्यक्रम समेत सम्पन्न गरेको छ । गत आइतबार र सोमबार दुई दिवसीय कार्यक्रम गरी नयाँ पिँडीलाई चुट्का सिकाएको हो । चुट्का गुरुङ तथा मगर समुदायको मौलिक गीत, नाच हो । आधुनिक विश्वव्यापिकरणको युगमा हिन्दी, अंग्रेजी, कोरियन गीतहरुमा रमाइरहेको युवा पुस्ताले आफ्नो मौलिक गीत, नाच बिर्सिएका छन् ।
त्यसैले तमु समाजले मौलिक संस्कार र संस्कृति जगाउन, जोगाउन प्रशिक्षण कार्यक्रम आयोजना गरेको हो ।
यसरी नै अरु पालिकाले पनि आफ्नो संस्कार, संस्कृति जगाउने र जोगाउने खालका कार्यक्रम गर्नु महान कार्य हुनेछ ।




