| मङ्लबार, कार्तिक २४, २०८३

चुट्का संरक्षण गर्न धार्चे तमु समाजको पहल

गुरुङ समुदायको सांस्कृतिक सम्पदाका रुपमा रहेको चुट्का(कौडा) संरक्षण गर्नका लागि धार्चे तमु समाजले पहल सुरु गरेको छ । चुट्का संरक्षणका लागि समाजले आइतबार र सोमबार दुईदिने चुट्का(कौडा) नाच सम्बन्धी प्रशिक्षण सम्पन्न भएको छ । गोरखाको माथिल्लो भेगहरुमा चुड्का र कौडा नाच्ने प्रवृत्ति बिकास गर्ने उदेश्य सहित प्रशिक्षण कार्यक्रम संचालन गरिएको धार्चे तमु समाजका राज गुरुङले जानकारी दिए ।

‘हाम्रोमा चुड्का र कौडा नाच्ने प्रचलन नै छैन, तर यी नाचहरुको मेलापात र शुभकार्यमा निकै महत्व छ’, गुरुङले भने, ‘समग्र पालिकामा चुड्का र कौडा विस्तार गर्ने उदेश्य सहित ‘धार्चे तमु समाज’ गठन गरेर प्रशिक्षण कार्यक्रम संचालन गरेका हौँ ।’ चर्चित कोरियोग्राफर मनाङ गुरुङ, लोक गायक पृथ्वी गुरुङ र धार्चेकी सुस्मिता गुरुङ (मोडल)ले कार्यक्रममा कौडा सिकाएको उनले बताए ।

चुट्का/कौडा नाच सम्बन्धी प्रशिक्षणमा धार्चेको सिङ्ला, लाप्राक, गुम्दा र लापुबाट १२/१२ जना महिला र पुरुषले सहभागिता जनाएका थिए । कार्यक्रममा चुड्का/कौडा सम्बन्धी आधारभुत कुराहरुका बारेमा जानकारी गराइएको धार्चे तमु समाजका अध्यक्ष सन्तबहादुर गुरुङले जानकारी दिए ।

‘पूरा कोर्स सिक्न त डेढ महिना तालिम लिनुपर्ने रहेछ तर हामीसँग अहिले स्रोत साधन नभएकाले आधारभुत कुराहरुका बारेमा मात्र प्रशिक्षण दिइएको हो’, अध्यक्ष गुरुङले भने, ‘बिस्तारै यहाँ कक्षा लिएकाहरु अन्य ठाउँमा चुट्का लगाउन जाने, अन्तका युवाहरुलाई बोलाउने गरेर सिक्ने लक्ष्य छ ।’ पालिकाको अन्य भेगहरुमा पनि चुट्का÷कौडा लगाउने प्रवृत्ति बिकास गर्ने लक्ष्य धार्चे तमु समाजको रहेको उनको भनाई छ ।

अध्यक्ष सन्तबहादुर गुरुङको अध्यक्षतामा तथा पालिका अध्यक्ष लक्ष्मण गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न प्रशिक्षण कार्यक्रममा धार्चे तमु समाजका सल्लाहकार धनबहादुर गुरुङ, तमु ह्युल छोज धीका जिल्ला अध्यक्ष रामबहादुर गुरुङ लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्