
महामारी तथा प्रकोपजन्य अवस्थामा बहुपक्षीय निकायहरुबीच समन्वयात्मक बैठक सम्पन्न
जिल्लामा महामारी तथा प्रकोपजन्य कहुपक्षीय निकायहरुबीच समन्वयात्मक बैठक सम्पन्न भएको छ । जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी भोला दहालको अध्यक्षतामा बिहीबार सम्पन्न बैठकले डेङ्गु लगायत महामारी रोगहरुको रोकथाम, नियन्त्रण र व्यवस्थापनका लागि आवश्यक छलफल तथा समीक्षा सम्पन्न गरेको छ ।
जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार जिल्लामा साउन यता ७३ जनामा डेङ्गु संक्रमण पुष्टि भएको छ । यस्तै, ८२ जनामा स्क्रब टाइफस पुष्टि भएको कार्यालयले जनाएको छ । डेङ्गु सबैभन्दा धेरै गोरखा नगरपालिकामा ४२ जनामा देखिएको उल्लेख छ । स्क्रब टाइफस संक्रमण भने सबैभन्दा धेर आरुघाट गाउँपालिकामा पुष्टि भएको छ । आरुघाटमा ४२ जनामा स्क्रब टाइफस देखिएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ । यसैगरी, गोरखा नगरपालिकाको २० जनामा स्क्रब टाइफस पुष्टि भएको हो ।
बिहीबार सम्पन्न समन्वयात्मक बैठकले जिल्ला भित्र रहेका सम्पुर्ण प्रयोगशालाहरुका लागी विश्व स्वास्थ्य संगठनबाट पूर्वयोग्य साथै, युएसएफडिएबाट स्वीकृत किट प्रयोग गरी परिक्षण गर्नुपर्ने, गोरखा अस्पताल लगायत सरकारी प्रयोगशालामा निशुल्क परिक्षणको व्यवस्था मिलाउन स्थानीय सरकारसँग समन्वय गर्ने र प्राइभेट प्रयोगशालाहरुमा बढीमा ६०० को दरले परिक्षण शुल्क लिने व्यवस्था मिलाउनु पर्ने लगायतका निर्णयहरु भएका छन् ।
यस्तै, डेङ्गु नियन्त्रणका लागी जिल्लाभर ‘लार्भा छोज र नष्ट गर’ अभियान संचालन गर्ने, पानीजन्य रोगहरु नियन्त्रणका लागी संचार माध्यमहरुमा सूचनाहरु प्रशारण गराउने, आवश्यक जोखिमलाई मध्यनजर गर्दै तयारी अवस्थाम रहने र आवश्यक औषधीजन्य सामाग्रीहरु खरिद गरी स्टक फइलिङ गर्ने, अक्सिजन सिलिण्डर÷अक्सिजन कन्सन्टेटर तयारी अवस्थामा राख्ने लगायतका निर्णयहरु गरेको छ ।




