
आँबुखैरेनीमा डेङ्गुबाट ३५५ जना संक्रमित
गोरखा सदरमुकामको छिमेकी तनहुँको आबुँखैरेनीमा तीब्र गतिमा डेङ्गु संक्रमण फैलिएको छ । पालिकाको स्वास्थ्य शाखा प्रमुख अगमराज उपाध्यायका अनुसार आँबुखैरेनी गाउँपालिकामा ३५५ जनामा डेङ्गु संक्रमण पुष्टि भएको छ ।
असार र साउनमा मात्र ३५५ जनामा डेङ्ग् पोजेटिभ देखिएको उनले बताए । ‘हाम्रोमा डेङ्गुको संक्रमण दिनप्रति दिन बढ्दो छ’, उनले भने, ‘पालिकाद्वारा सञ्चालित आँबुखैरेनी अस्पताल र अरु स्वास्थ्य संस्थाहरुमा डेङ्गुका बिरामीको भिड बढेको छ ।’ डेङ्गु नियन्त्रणका लागि पालिकाले विभिन्न कार्यक्रमहरु संचालन गरेको उनले बताए ।
त्यस्तै गोरखामा पनि डेङ्गुका बिरामीको संख्या बढिरहेको छ । जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार जिल्लामा साउन यता ७३ जनामा डेङ्गु संक्रमण पुष्टि भएको छ । डेङ्गु सबैभन्दा धेरै गोरखा नगरपालिकामा ४२ जनामा देखिएको उल्लेख छ ।डेङ्गु बढ्न थालेपछि आँबुखैरेनी गाउँपालिकाले नियन्त्रण अभियान सञ्चालन गरिरहेको छ ।
‘डेङ्गु नियन्त्रणका लागि पालिकाले ‘लाम्खुट्टे खोज र नष्ट गर’ अभियान संचालन गरेको छ’, उनले भने, ‘अभियान अन्तरगत पानी जम्ने ठाउँ सफा गर्ने, ग्यारेजका राखिएका ड्रमहरु छोप्न लगाउने, र पानी जमेका खाल्डाहरु पुर्ने लगायतका कामहरु गरेका छौँ ।’ यस्तै, माइकिङ्क गरेर समेत सचेतना फैलाइएको उनको भनाई छ । डेङ्गुका बिरामीहरुलाई पालिका स्थित छिम्केश्वरी अस्पतालमा सहुलियतमा सेवा दिईरहेको पालिकाले जनाएको छ ।




