
कादुरीको भरोशामा चुम्चेतबासी
अलिअलि सोलार टुकी र अधिकांशहरु अँध्यारोमा गुुजारा गरिरहेका चुम्चेतबासीको मुहारमा २०७९ साल जेठ १५ गते कादुरी नामक एक सामाजिक संस्थाले उज्यालो छरिदियो । अर्थात ब्रिटिश संस्था कादुरी एग्रिकल्चरल एड एशोसिएशन(केएए)ले ७५ किलोवाटको लघुजलविद्युत आयोजना निर्माण गरेर स्थानीय २५० भन्दा धेरै घरधुरीका बासिन्दालाई सेवा दिएको थियो ।
तर गत साउनको १२ गते चमार हिमालको फेदबाट झरेको पहिरोले चुम्चेतबासीको मुहारमा फेरि अँध्यारो पोतिदियो । अर्थात सो पहिरोले सो लघुजलविद्युत आयोजना जगैदेखि नामेट पारेर बगाइदियो । सो घटनापछि उत्तरी गोरखाको चुम्चेत, चुम्लिङ, सिप्चेतलगायतका हिमाली गाउँका बासिन्दा अहिले अँगेनुको उज्यालोका भरमा रात गुजार्न बाध्य छन् ।
गाउँको लघुजलविद्युत आयोजना पहिरोले बगाएपछि चुमनुब्री गाउँपालिका ६ चुम्चेत, चुम्लिङ, सिप्चेत, खारोङ, ताज्यू, डुम्जे, रेञ्जम, घो, यार्चा र खारगुम्बा बस्तीका करिब २५० भन्दा धेरै घरधुरीका बासिन्दा दाउराको उज्यालोको भरमा जीवन गुजार्ने गरेका हुन् ।
विद्युतविहिन भएपछि बत्तीमात्र होइन, दैनिक छाक टार्ने अन्न कुटानी पिसानी गर्न समेत पाइएका छैनन् । मोबाइल चार्ज गर्न पनि नपाएको गाउँलेको गुनासो छ । आफूहरु प्राचीन पाषाण युगमा फर्किएजस्तो अनुभव गरिरहेको उनीहरुको दुखेसो छ ।
चुमुनुब्री गाउँपालिकाका कुनै पनि गाउँमा केन्द्रीय प्रशारणको विद्युत लाइन पुगेको छैन ।
उत्तरी गोरखाको दुर्गम गाउँबस्तीका लागि बरदान बनेर रहेको कादुरीले पुन लघुजलविद्युत आयोजना निर्माण गरी आफूहरुको मुहारमा उज्यालो गरिदिने गाउँलेको अपेक्षा छ । यसका लागि कादुरी स्वयं आएर अवलोकन गरी योजना बनाउने उनीहरुको भरोशा छ ।
कादुरीले विद्युत आयोजना निर्माण गरे आफूहरु उज्यालोमा बस्न पाउने, गहुँ, जौ, करु कुटानी पिसानी गर्न पाउने गाउँलेको आशा, अपेक्षा छ । साथै आधुनिक युगको लोकप्रिय मोबाइल सेवा प्रयोग गर्न पाउने उनीहरुको अभिलाशा छ ।




