
गाई काटेको अभियोगमा २ जना पक्राउ
गाई काटेको अभियोगमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भिमसेनथापा गाउँपालिका–४ का ४१ वर्षीय बाबुराम अछामी र ३३ वर्षीय राजिन सुर्खेती रहेको प्रहरीले जनाएको छ ।
‘गत सोमबार सोही स्थान बस्ने दिपक काप्रीले आफ्नो २ वर्षीय गाईलाई १५ हजारमा अछामीलाई दिएको रहेछ’, प्रहरी निरिक्षक ध्रुव प्रसाद शर्माले भने, ‘अछामी र सुर्खेती भएर उक्त गाईलाई हानमार गरी मारेको भनी दिपक काप्रीले दिएको जाहेरीका आधारमा हामीले उनीहरुलाई पक्राउ गरेका हौँ ।’
घटनास्थलबाट गाईको अंगहरु र हानमार गर्न प्रयोग भएको बन्चरो, खुकुरी र करौती समेत फेला परेको उनले जानकारी दिए ।
उनीहरुलाई बिरुद्ध बुधबार पशुपंक्षी सम्बन्धी कसूर शीर्षकमा मुद्दा दर्ता गरि थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।




