| सोमवार, कार्तिक २३, २०८३

अजुवाखोला सडकमा सवारी सहज बनाऊ

बेनिघाट, आरुघाट, लार्के सडकको आर्खेत–सोती खण्डअन्तर्गत पर्ने अजुवाखोला पुलनेर सडक बिग्रिएका कारण यतिबेला यात्रुहरुले बस तानेर उकालो चढाउनुपर्ने अबस्था छ । सडकबाट पुलजीपमा बस चढ्न नसक्दा यात्रुहरुले बसमा डोरी लगाएर तान्ने गर्छन् ।

पुल, पुलजीप र सडकको सतह अव्यवहारिक तबरले निर्माण गरेका कारण बस चल्न नसकेको हो । यसअघि २०७३/०७४ मा ठेक्का सम्झौता भएको अजुवाखोला पुल निर्माणको काम गत असारमा सम्पन्न भएको थियो । कन्काइ गोरखा जेभीले दुईबर्षभित्र निर्माण सम्पन्न गर्नेगरी सम्झौता गरेको सो योजना आठबर्षपछि बल्तल्ल निर्माण सम्पन्न भएको हो ।

काम सम्पन्न भएपनि सवारी साधन चल्न नसक्ने गरी काम भयो । फलस्वरुप यो बर्खामा सो पुल तर्न यात्रुले बसलाई डोरी लगाएर तान्नु परिरहेको छ । अथवा पन्द्रसय, दुईहजार रुपैयाँ खर्च गरी ट्याक्टर लगाएर तान्नु परिरहेको छ । सवारी साधन ओहोरदोहोर गर्न नसक्ने गरी उकालो बनाएर बनाइएको पुलजिपमा बस चढ्न सक्दैन । त्यसैले कुनै बसले यात्रा नै रद्ध गरी पुन सोती फर्कने गरेका छन् भने कुनै बस सो उकालो चढ्ने प्रयास गर्दागर्दै दुई, तीनघण्टा बित्छ ।

यस्तो सास्ती अहिले सो सडकमा देखिन्छ । पुल बनाएपछि सडकबाट पुलसम्मको एक्सेसमार्ग बनाउनु पथ्र्यो, तर निर्माण कम्पनीले हतार हतार गरी काम सकेर फर्किने ध्याउन्न मात्र गर्न थाल्यो । स्थानीयबासीका अनुसार पुल र सडकको लिंकरोड नबनाई तथा कामदारहरुलाई भुक्तानी दिन पनि बाँकी राखेर निर्माण कम्पनी फर्कँदै गर्दा इप्रका आरुघाटले एक्साभेटर रोकेर राखेको छ ।

जे जसो भयो, सक्कियो । अबदेखि कामको जिम्मा लिँदा निर्माण गर्न सकिन्छ कि, सकिदैन कि भनेर पूर्व अनुमान गर्नुपर्छ । कामको जिम्मा लिएपछि यथासमयमा सम्पन्न गर्नु जरुरी छ । तर अजुवाखोला पुलजीपमा जस्तो अलपत्र पारेर यात्रुलाई छाड्नु हुन्न ।

प्रतिक्रिया दिनुहोस्