| मङ्लबार, कार्तिक २४, २०८३

डोरीले बस तान्दै यात्रा गर्दै यात्रुहरु

के तपाईँ आजभोलि बेनिघाट आरुघाट लार्के सडकमा यात्रा गर्ने तयारी गर्दै हुनुहुन्छ ? हुनुहुन्छ भने पाखुरा र तिघ्रामा घ्यू घस्दै गर्नुहोस अनि, तागतिलो खाना खाएर बल संग्रह गर्दै गर्नुहोस । किनभने आर्खेत सोती खण्डको अजुवाखोलामा तपाईले पक्का पनि बसलाई डोरीले बाँधेर तान्नुपर्नेछ ।

अजुवाखोला पुलको एकातर्फ हिलोमा बस फँस्छ, अर्काेतर्फ उकालोमा बस चढ्न सक्दैन । यी दुबै पुलजीपमा भएभरका यात्रु ओर्लेर बसलाई तान्ने र धकेल्ने गर्नुपर्छ । तान्न, धकेल्न सकिएन भने यात्रा रद्ध हुन्छ । ‘यो बर्खामा माछाखोलासम्म त बस चल्दैन । जीपमात्र चल्छ । बल्लतल्ल सोतीसम्म जाने हो’, आर्खेतसम्म जाने बाटोमा साह्रै सकसपूर्ण छ’, जीप चालक विकास गुरुङ भन्छन्, ‘जीप त जसोतसो चल्छ, बसलाई साह्रै धामा छ ।’ पुलजीपको उकालो चढ्न कुनै बसलाई एकदुईघण्टासम्म लाग्ने, कुनैले यात्रा रद्ध गर्ने उनले बताए ।

लामो समयसम्म क्रोनिक बनेर बल्लतल्ल हालसालै बनेको अजुवाखोला पुलको संरचना सवारीमैत्री नहुँदा यस्तो आपदविपद सहनु परेको हो । ‘बस चढ्नै नसक्ने उकालो पुलजीप छ । त्यहाँमाथि पानीले गर्दा बस घण्टौँघण्टा भुत्भुती खेल्छ’, यातायात व्यवसायी पूर्ण गुरुङ भन्छन्, ‘सोतीबाट आठबजे छुटेको बस १० बजेसम्म अजुवाखोलामै अड्किन्छ । कुनैले दुई घण्टा लाइदिन्छ । कुनैले सक्दै नसकेपछि क्यू क्यान्सिल गरिदिन्छ, कुनैले दुईहजार खर्च गरेर ट्याक्टर लाएर तान्छन् ।’ पुल बनाउने ठेकेदारले काममा लापार्बाही गरिदिँदा दुख पाएको उनको भनाइ छ ।

आरुघाट गाउँपालिका वडा नं. ३ र ४ जोड्ने अजुवाखोला पुलको निर्माण गर्दा ठेकेदारले काम कमसल गरेको र गाउँपालिकाले पनि बेवास्ता गरेकाले समस्या भोग्नु परेको उनको भनाइ छ । ‘रोडबाट पुलको जीपसम्म चढ्ने ठाउँ त ग्रेडिङ मिलाउनु पर्छ नि, तर ठेकेदार काम बिगारेर छोडेर गयो’, गुरुङले भने, ‘यात्रुले यस्तो दुख पाइरहेका छन्, मिलाइदिनु प¥यो भनेर गाउँपालिका अध्यक्षलाई भन्दा सँधै भोलिभोलि भनेर टारिरहन्छन् ।’

काम सम्पन्न नहुँदै गोरखा एप्रोप्रियट निर्माण कम्पनीले अधकल्चो पारेर गएको आरुघाट गाउँपालिकाका अध्यक्ष राजु गुरुङले जानकारी दिए । ‘पुलको एउटा जीपमा पानीको आहाल छ, अर्कोजीप ठाडै उकालो छ । गे्रडिङ मिलाएर मात्र साइट छाड्न भनेका थियौँ, तर कन्ट्याक्टरले अटेरी गरी साइट छाडेर गए’, गुरुङले भने, ‘एक्साभेटर बिग्रियो भन्ने निहुँ पारेर जान लागेका थिए, प्रहरीलाई अनुरोध गरेर एक्साभेटर इप्रकाबाट अगाडि जान दिएनौँ । त्यहीँ राख्न लगायौँ ।’ गाउँपालिकाले छिट्टै मर्मत गरिदिने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्