
बाढीले उत्तरी गोरखाको चुम्लिङ चुम्चेत लघुजलबिद्युत आयोजनामा क्षति, विद्युत सेवा अवरुद्ध
बर्षाका कारण उत्तरी गोरखाको चुमनुव्री गाउँपालिका–६ चुम्लिङमा रहेको चुम्लिङ चुम्चेत लघुजलबिद्युत आयोजनामा क्षति पुगेको छ ।
७५ किलोवाट क्षमताको उक्त आयोजनामा शनिवार रातीको बाढीले क्षति पु¥याएको वडाध्यक्ष सरोज लामाले बताए । ‘चमारी हिमालबाट झरेको खोलामा बाढी आएर मुहानको ड्याम नै बगायो,’ उनले भने, ‘जमिन सहित कुलो र पाइपहरु पनि सबै बगाएको छ ।’ सो क्षेत्रमा अहिले बिद्युत सेवा अवरुद्ध भएको बताउँदै उनले चुम्चेतको लोक्पा गाउँ वाहेक वडाका सबै गाउँ अहिले अन्धकार बनेको जानकारी गराए ।
२०७९ सालमा कादुरी नामक संस्थाले उक्त आयोजना निर्माण गरेको हो । आयोजनाबाट वडा नम्वर ६ का करिव दुई सय ५० घरधुरीले बिजुली बाल्दै आएका थिए । कादुरी मार्फत नै मर्मत गर्नुपर्ने भएकाले केही समय लाग्ने वडाध्यक्ष लामाले बताए । ‘गाउँपालिकाको विपदको रकमबाट तत्काल केही मर्मत गर्न सकिन्छ की भनेर प्राविधिक टोलि हेर्न पनि गएको थियो, तर बनाउन सक्ने सम्भव नै देखिएन, अव कादुरीबाट मान्छेहरु आएपछि मात्र मर्मतको काम सुरु हुन्छ,’ उनले भने । बिद्युत सेवा अवरुद्ध हुदाँ बिभिन्न समस्या भोग्नु परेको स्थानीयले गुनासो गरेका छन् ।




