
आफन्त र छिमेकीबाटै सुरक्षित छैनन् बालिका
अर्थिक वर्ष २०८०/८१ मा जिल्ला प्रहरी कार्यालयमा जवरजस्ती करणीका २४ वटा मुद्वा दर्ता भए् । ती मध्ये अधिकांश घटनामा पीडितहरु आफन्त र छिमेकीबाटै बलात्कृत भएका छन् । आफन्तबाट बलात्कृत भएको भन्दै आठ वटा जाहेरी परेको प्रहरी नायव उपरीक्षक रमेशकुमार श्रेष्ठले बताए ।
त्यस्तै छिमेकीबाट पीडित भएको भन्दै १२ वटा र सामान्य चिनजानका मान्छेबाट बलात्कृत भएको भन्दै चार वटा जाहेरी परेको उनले जानकारी दिए । उनका अनुसार जवरजस्ती करणी उद्योगका भने ६ वटा मुद्वा दर्ता भएका थिए । उक्त मुद्वामा पनि पाँच वटा छिमेकी र एउटा सामान्य चिनजानको व्यक्तिबाट पीडित भएको भनी जाहेरी परेको डिएसपी श्रेष्ठले बताए । बाल यौन दुरुपयोग अन्तरगत गत आव सात वटा मुद्वा दर्ता भएका थिए ।
जसमध्ये तीन वटा घटना नजिकको आफन्तबाट घटेको प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख छ । यस्तै छिमेकीबाट पीडित भएको भन्दै तीन वटा र सामान्य चिनजानको व्यक्तिबाट पीडित भएको भन्दै एउटा जाहेरी परेको कार्यालयले जनाएको छ । जिल्लामा भएका यौनजन्य घटनामा आफन्त र छिमेकीबाटै बालिका तथा महिलाहरु पीडित हुने गरेको पाइएको डिएसपी श्रेष्ठ बताउँछन् । ‘जिल्लामा जतिपनि यौनजन्य घटना घटेका छन्, तीमध्य ९० प्रतिशत आफन्त र छिमेकीबाटै भएको पाइएको छ’, उनले भने ।
उनका अनुसार पीडित हुनेमा सबैभन्दा धेरै १६ वर्ष मुनीका बालिका रहेका छन् । गत आव १६ वर्ष मुनीका ९ जना बालिकाहरु जबरजस्ती करणीका शिकार बनेका थिए । यस्तै, १६ देखि २५ वर्षसम्मको ५ जना र २६ वर्षदेखि ३५ वर्षसम्मका ८ जना महिलाहरु जबरजस्ती करणीको शिकार बनेको बताइएको छ । ३६ देखि ४५ वर्षको १ जना र ४६ वर्षदेखि ६० वर्ष उमेर समूहकी १ जना महिला करणीमा परेको जिल्ला प्रहरी कार्यालय गोरखाको तथ्याङ्कमा उल्लेख छ ।
गत आव जवरजस्ती करणी अन्तरगत दर्ता भएका २४ मुद्वा मध्ये २२ वटा फछ्र्याैट भईसकेको र २ वटा मुद्वाका प्रतिवादी फरार रहेको प्रहरीले जनाएको छ । अभिभावकहरुमा चेतनास्तर बृद्धि भएका कारण यौनजन्य घटनाहरु बिस्तारै बाहिर आउन थालेको जिल्ला प्रहरी प्रमुख बासुदेव पाठकले बताए ।
‘पहिलाको तुलनामा पछिल्लो समय यौनजन्य घटनाहरु बाहिर आउन थालेका छन्’, उनले भने, ‘१–२ वटा घटनामा म आँफैले अभिभावकहरुलाई घटना बाहिर ल्याएकोमा घन्यवाद दिएर पठाएको छु ।’ कतिपय यौनजन्य घटनाहरु घरपरिवारले थाहा पाउँदा पाउँदै पनि लुकाउन खोज्ने गरेको उनले बताए ।




