
आत्महत्या भनी गाडिएको महिलाको शव प्रहरीद्धारा बरामद
आत्महत्याबाट मृत्यु भएको भन्दै दाहसंस्कार गरी जमिनमा गाडिएको एक महिलाको शव गोरखा प्रहरीले बरामद गरेको छ । बारपाक सुलिकोट गाउँपालिका–४ भण्डारी गाउँका ४६ बर्षीय मारज गुरुङकी श्रीमती रनमाया गुरुङको शव गाडिएको स्थानबाट उत्खनन गरि बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
झुण्डिएर आत्महत्या गरेपनि घटना शंकास्पद देखिएकाले शव उत्खनन गरि पोष्पटमार्टमका लागि फरेन्सिक मेडिसिन बिभाग महाराजगंज काठमाण्डौ पठाइएको प्रहरी नायव उपरीक्षक रमेशकुमार श्रेष्ठले बताए । ‘४५ बर्षीया ती महिलाको यही साउन ४ गते झुण्डिएर मृत्यु भएको भनेर भोलिपल्ट जातीय परम्परा अनुसार लाश जमिनमा गाडी सदगत गरेछन्,’ उनले भने, ‘घटना शंकास्पद लागेर मृतक महिलाका दाजु सुकपाल गुरुङले छानविन गरि पाउँ भनी यही साउन १० गते प्रहरीकोमा निवेदन दिएपछि अनुसन्धानका लागि शव बरामद गरेका हौ ।’
सोही निवेदनको आधारमा साउन ११ गते शुक्रवार इलाका प्रहरी कार्यालय जौवारी, जिल्ला प्रहरी कार्यालय र गोरखा अस्पतालका बिशेषज्ञ चिकित्सक समेतको टोलि घटनास्थल पुगेको र गाडेको स्थानबाट शव उत्खनन गरि ल्याएको उनले जनाकारी दिए । शव गाड्नु अघि खिचेको तस्विरमा महिलाको शरिरमा चोटपटकको दाग देखेपछि माइती पक्षले प्रहरीकोमा निवेदन दिएको डिएसपी श्रेष्ठले बताए ।
‘शव गाड्ने बेला माइती पक्ष टाढा भएर आउन पाएनछन्, दाहसंस्कारको बेला फोटो खिचिएको रहेछ, फोटो हेर्दा शरीरमा चोटपटकको दाग जस्तो देखेपछि शंका लागेर ती महिलाका दाईले हाम्रो कार्यालयमा निवेदन दिए्,’ उनले भने । तस्विरमा मृतक महिलाको पेटको दाया भाग र दाया आँखामा चोटको दाग देखिएको बताइएको छ । पोष्टमार्टमको रिपोर्ट आएपछि थप कुरा खुल्ने बताउँदै डिएसपी श्रेष्ठले घटनाबारे थप अनुसन्धान भइरहेको बताए ।




