
फेरि एकल निर्णयले खुल्यो रुइला नाका
दरौँदी समाचारदाता ः चुमनुब्री गाउँपालिका १ सामागाउँ र तिब्बत बीचको रुइला नाका खुल्ला भएको छ । बर्षमा एकपटक मात्र खोल्ने गरिएको नाका तिब्बत सरकारको एकल निर्णय अनुसार गत शनिबारदेखि खुल्ला भएको हो ।
नाका खुल्ला भएपछि सामागाउँका बासिन्दा तिब्बतको जोङ्गा सहरमा उपभोग्य सामग्री ओसार्न गएका वडा सदस्य मिङमार लामाले जानकारी दिए । ‘१० देखि १५ दिनसम्मका लागि नाका खुल्छ’, लामाले भने, ‘यो बेला सबै गाउँलेहरु याक, चौंरी, झोपा लिएर सामान ओसार्न जाने गर्छन् ।’ एकखेप ओसारेर दोस्रो खेपका लागि गएको उनले बताए । नाका खुलेको मौका पारेर स्थानीयबासीले जोङ्गा सहरबाट चामल, करु, मैदा, सुजी, रक्सी, नून, घ्यू, चिया, चिनी लगायतका उपभोग्य सामान ल्याउने गर्छन् । पुगेर सामान ल्याउन तीन दिन लाग्ने लामाले बताए । ‘यहाँबाट जान डेढ दिन लाग्छ’, उनले भने, ‘फर्कन एक दिन लाग्छ ।’ बिगतमा भन्दा यसबर्ष नाकामा त्यति धेरै कडाइ नगरिएको स्थानीयबासीले बताएका छन् । गतबर्ष मान्छेको र याक चौरीको समेत स्वास्थ्यचेकजाँच गरेर औषधी छर्केर मात्र प्रवेश गराइन्थ्यो । बाढी पहिरोका कारण आरुघाटबाट उत्तरी गोरखातर्फ जाने बाटो अबरुद्ध छ । यो बेला स्थानीयले उपभोग्य बस्तु मनाङ बाट ओसार्ने गर्छन् । ‘मनाङबाट प्रतिकिलो ८५ रुपियाँ ढुवानीभाडा तिर्नुपर्छ । जोङ्गाबाट सामान ल्याउँदा प्रतिकिलो ६० रुपियाँ तिर्नुपर्छ । आरुघाटबाट त खुलेकै छैन ।’ औपचारिक छलफल बिना तिब्बतको स्थानीय सरकारको एकल निर्णयले खोल्ने र बन्द गर्ने अर्का स्थानीय निमा लामाले बताए । ‘दोहोरा छलफल हुदैन । ल है नाका खुल्यो भनेर मान्छे पठाएर खबर गर्छन्’, उनले भने, ‘औपचारिक बैठक, निर्णय गरेर केही हुदैन ।’ यसबारेमा नेपाल तर्फको जिल्ला सरकारलाई समेत जानकारी हुदैन । तिब्बत सरकारले बिगतका बर्षहरुमा पनि एकल निर्णयले नाका खोल्ने एकल निर्णयले बन्द गर्ने गर्दै आएको थियो ।
कहिले खुल्ने, कहिले बन्द हुने बारे केही जानकारी नभएको प्रमुख जिल्ला अधिकारी नारायण भट्टराईले बताए ।




