| सोमवार, कार्तिक २३, २०८३

पर्यटन प्रवद्र्धनका लागि इतिहासको जर्गेना आवश्यक

गोरखा आफैमा ऐतिहासिक महत्वको जिल्ला हो । यस जिल्लासँग नेपालका प्रथम प्रधानमन्त्री भीमसेन थापादेखि नेपाल राज्य एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहसम्मको इतिहास जोडिएको छ ।

राजा रामशाहको ‘न्याय नपाए गोरखा जानु’ भन्ने चरितार्थ उक्त्तिले न्यायको चर्चा मात्र नभइ गोरखालाई न्याय थलोको रुपमा पनि चिनाएको छ । जिल्ला चिनाउने यस्ता थुप्रै इतिहासहरु छन्, तर बिडम्वना त्यही इतिहास जर्गेना हुन सकेको छैन ।

पर्यटन प्रवद्र्धनका ठुला ठुला गफ गर्न हामी सिपालु छौ त्यसमाथि कुनै ठोस रणनीति र योजना विनै । हरेक योजनालाई पर्यटनसँग लगेर जोड्ने बानी नै भइसक्यो चाहे त्यसको पर्यटनसँग संलग्नता होस् नहोस् । पर्यटन प्रवद्र्धनका ठुला ठुला नाराहरु पनि गुन्जिएकै हुन्छन् । पर्यटन प्रवद्र्धनका नाममा जिल्लामा पनि थुप्रै भ्यू टावरहरु बने । पार्कहरु पनि निर्माण भएकै छन् । राज्यको यो लगानी व्यर्थ प्रमाणित भइसक्यो ।

पर्यटन प्रवद्र्धनका नाममा यी अनावश्यक संरचना र पार्क निर्माण गर्नुको अलावा जिल्लामा रहेका ऐतिहासिक र धार्मिक सम्पदाहरुको संरक्षणमा जोड दिन सके लगानीले सार्थकता पाउने छ । पर्यटन प्रवद्र्धनको पनि आश गर्न सकिन्छ । केही स्थानीय तहले यस्तो अभ्यास सुरु गरेका छन् । भीमसेन थापा गाउँपालिकाले बोर्लाङमा इतिहासको जर्गेनाका लागि भन्दै भीमसेन थापा स्मृती पार्क निर्माणको थालनी गरेको छ ।

गोरखा नगरपालिकाले गोरखनाथ पार्क निर्माणको योजना अघि सारेको छ । पालुङटार नगरपालिका लिगलिकोटको संरक्षण र सम्वद्र्धनमा जुटेको छ । यसरी नै ऐतिहासिक एवं पुरातात्विक महत्वका सम्पदा र स्थलहरको संरक्षण गर्दै यसको प्रचार प्रसारमा जुट्न सक्यौ भने पर्यटन प्रवद्र्धनको सपना साकार हुने थियो की !

प्रतिक्रिया दिनुहोस्