| मङ्लबार, कार्तिक २४, २०८३

मनास्लु क्षेत्रमा वन्यजन्तुको आक्रमणबाट ८१ पशुचौपाय मरे, ९ लाख क्षतिपूर्ति वितरण

उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गत आर्थिक वर्ष २०८०/८१ मा वन्यजन्तुको आक्रमणबाट ८१ वटा घरपालुवा पशुचौपाय मरेका छन् । चुमनुव्री गाउँपालिका वडा नम्वर १, ३, ४ र ७ मा गरि कुल ७५ घरधुरीका ८१ वटा पशुचौपाय वन्यजन्तुको आक्रमण परि मरेको मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) ले जनाएको छ । आयोजनाका अनुसार ४३ वटा याक/चौरी, ३३ वटा घोडा, गाई र गोरु २/२ वटा र एउटा भेडा मरेका हुन् ।

ब्वासोले ५३, हिमचितुवाले २३ र भालुले ५ वटा पशुचौपाय मारेको एमक्यापको तथ्याङ्कमा उल्लेख छ । जस वापत कार्यालयले ९ लाख २२ हजार रुपैया क्षतिपूर्ति रकम तिरेको आयोजना प्रमुख सन्तोष शेरचनले बताए । ‘वन्यजन्तुले पालिकाको चार वटा वडामा व्यक्तिको गोठमा समेत क्षति पु¥याएर पुशचौपायलाई आक्रमण गरेको देखियो,’ उनले भने, ‘सम्बन्धित धनीहरुलाई प्रति पशुचौपाया ८ देखि २० हजारको दरले क्षतिपूर्ति रकम प्रदान गरेका छौ ।’

गर्मीयाममा चरनका लागि पशुचौपायलाई लेक लैजाने क्रममा वन्यजन्तुले बढी आक्रमण गर्ने गरेको उनको भनाइ छ । ‘एउटै चौरी/भेडालाई ५०–६० हजार पर्न जान्छ’, उनले भने, ‘पुरै मुल्य दिन त सम्भव हुदैन, तर राहत स्वरुप केही रकम उपलब्ध गराउने गरेका छौँ ।’ एक वर्षको अवधिमा ८१ वटा पशुधन माथि आक्रमण हुनु निकै गम्भीर रहेको भन्दै उनले चिन्ता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्