| मङ्लबार, कार्तिक २४, २०८३

गोनपाको करिव तीन सय रोपनी धान खेतीमा क्षति

केही दिनको अविरल बर्षाका कारण गोरखा नगरपालिकाको करिव तीन सय रोपनी क्षेत्रफलको धान खेतीमा क्षति पुगेको छ । जग्गा कटान गरि भल पसेर क्षति पुगेको नगरपालिका कृषि शाखाले जनाएको छ । सबैभन्दा बढी वडा नम्वर ३ र ५ जोड्ने वेनिखोलाले १ सय ५० रोपनी क्षेत्रफलमा क्षति पु¥याएको कृषि शाखा प्रमुख ऋषि रोकाले बताए ।

‘त्यहाँ मात्रै करिव तीस जना किसानहरुको खेति नष्ट भएको छ,’ उनले भने, ‘कुलो भत्केर भल पसेर जग्गा कटान गरेको छ ।’ उनका अनुसार अहिले किसानहरु पुनः बिउ राख्न थालेका छन् । ‘रोपाई गरेको एक महिना पनि पुगेको थिएन भल पसेर खेती नष्ट ग¥यो । अहिले त्यही ठाउँमा केही किसानले फेरी धान रोपेका छन् भने केहीले बिउ जमाएका छन्,’ रोकाले भने ।

करिव ४० रोपनी क्षेत्रफलमा पुनः बिउ राखिएको उनले जानकारी दिए । यता वडा नम्वर १० र ११ जोड्ने सिर्दिखोलाले १ सय २० रोपनी क्षेत्रफलको धान खेतीमा क्षति पु¥याएको छ । वडा नम्वर ५ स्थित ज्यामिरे खोलाले पनि करिव दश रोपनी क्षेत्रफलमा क्षति पु¥याएको कृषि शाखा प्रमुख रोकाले बताए ।

‘हामी क्षतिको विवरण संकलन गर्दैछौ, रिपोर्ट तयार गरेर विपदको बैठकमा पेश गर्छाै अनि बल्ल राहतको काम अघि बढ्छ,’ उनले भने । यो सिजनमा अधिकांश किसानहरुले सावित्री, रामधान र हाइव्रिड धान लगाएका थिए । बर्षाले वडा नम्वर १ मा मात्र करिव १७ वटा कुलो समेत भत्काएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्