
आत्महत्या रोकथामका लागी समन्वय र सहकार्य आवश्यक
जिल्ला प्रहरी कार्यालयले सोमवार सार्वजनिक गरेको तथ्याङ्कमा गत आर्थिक बर्ष २०८०/८१ मा दर्ता भएका मुद्दामध्ये सबैभन्दा धेरै आत्महत्याका घटना देखिन्छ । केही बर्ष यताको तथ्याङ्क केलाउने हो भने जिल्लामा आत्महत्याको दर बढ्दो क्रममा छ । अघिल्लो आर्थिक बर्षमा ७८ जनाले आत्महत्या गरेका थिए भने गत आव आत्महत्या गर्नेको संख्या ७१ पुगेको छ । यो भयावह अवस्था सिर्जना हुनुमा आत्महत्या रोकथाम तथा नियन्त्रणका लागि जिल्लामा पर्याप्त प्रयासहरु हुन नसक्नु नै हो । यो तितो सत्यलाई सबैले स्वीकार गर्नैपर्छ ।
आत्महत्या गर्नुको पछाडी कमजोर आर्थिक अवस्था, पारिवारिक कलह लगायतका कारण छन् । केही समयअघि सार्वजनिक भएको प्रतिवेदनले आत्महत्या गर्नेमा बढी निम्न र मध्यम वर्गका मानिस हुने गरेको बताएको छ । त्यसमाथि पनि कृषक र श्रमिक बढी । विपन्न र मध्यम वर्गका मानिसहरुले जीवनको चुनौती र आवश्यकतालाई पूरा गर्न नसक्दा अप्रिय निर्णय लिन्छन् । डब्लुएचओका अनुसार विश्वमा आत्महत्याको जोखिम बढी भएका देशमध्ये नेपाल सातौं स्थानमा छ । जिल्लाको आत्महत्याको तथ्याङ्क पनि निकै भयावह छ । यसको रोकथाम र नियन्त्रणका लागि सरोकारवालाहरुले तदरुपता देखाउनुपर्ने वेला आइसकेको छ ।
आत्महत्या रोकथाम तथा नियन्त्रणका लागि केही प्रयासहरु गर्न सकिन्छ । जिल्ला, पालिका र वडा स्तरमा आत्महत्या न्यूनिकरण कार्यदल बनाउन सकिन्छ । जिल्लामा उपलब्ध मनोचिकित्सक, परामदर्शदाता, चिकित्सक लगायतको प्रोफाइल तयार गरेर जिल्लास्तरीय अन्तरक्रिया कार्यक्रम संचालन गर्न सकिन्छ । मनोरोग र मानसिक तनाव नै आत्महत्याको प्रमुख कारण हो । त्यसैले वडा स्तरसम्म घरदैलो कार्यक्रम गरेर मनोरोगीहरुको पहिचान गरि उपचार तथा परामर्शमा ल्याउने व्यवस्था मिलाउन सके पनि आत्महत्याका घटना न्यूनिकरण गर्न सकिन्छ । आत्महत्या नियन्त्रणका लागि सरोकारवाला निकायहरुको समन्वय तथा सहकार्य आवश्यक देखिन्छ ।




