
धार्मिक सहिष्णुताको ‘जगत नमूना’
नामले जे जे पुकारे पनि धर्म एउटै हो, धर्मको सार एउटै हो, धर्मको लक्ष्य एउटै हो, धर्मको गन्तव्य एउटै हो ।
एउटा धर्म र अर्को धर्ममा केही पनि भिन्नता छैन, बरु अधर्म भनेकोचाहिँ फरक कुरा हो । मान्छेलाई एउटा धर्मबाट अर्को धर्ममा आकर्षण गर्न होइन, बरु अधर्मबाट धार्मिक मार्गतर्फ ल्याउन तत्परता देखाउनु पर्छ ।
सबै धर्मले सच्चरित्रवान बनाउँछ । धर्मले नैतिक, आदर्शवान बनाउँछ । झुठो नबोल्ने, छलकपट नगर्ने, शारीरिक, मानसिक हिँसा नगर्ने, मादकपदार्थ सेवन नगर्ने, सबै धर्मको साझा साध्य हो । र, आफ्ना आस्थाका केन्द्रको स्तुति, प्रार्थना, ध्यान, जप, साधना, पूजा सबै धर्मको साधन हो ।
जो कसैलाई पनि अधर्मको बाटो अबलम्बन गर्नबाट बचाएर धर्मको पथमा हिँडाउने साझा लक्ष्य, उद्देश्य लिएका सबै धर्मावलम्बीहरुका बीच सौहार्द्रता हुनु कति जात्ति हुन्छ । त्यसैले एक धर्म र अर्को धर्मावलम्बीका बीचमा आरोप, प्रत्यारोपको हिलो छ्यापाछ्याप गर्ने होइन मनमुटाव, अस्वस्थ प्रतिस्पर्धा गर्ने नभै सहकार्य, सहमति, एकता गर्दै अघि बढ्नु पर्छ ।
यसको एउटा दृश्यको नमूना हालै चुमनुब्री गाउँपालिका ३ जगतमा देखियो । त्यहाँ तीनसयबर्षभन्दा प्राचीन एक माने छ । अपरिपक्व खोजका अनुसार सो माने बेयुल किमोलुङको सबैभन्दा तल्लो भेगमा अवस्थित माने त्यो हो । त्यसैले यो मानेको धेरै महत्व रहिआएको छ ।
बेनिघाट, आरुघाट, लार्के सडक निर्माणको क्रममा जब सडक जगत बजार पुग्यो, तब त्यहाँबाट अघि जाने बाटो पाइएन । तलबाट लैजाँदा बूढीगण्डकीको त्रास, माथिबाट लगियो भने ठूलो चट्टान फुटाउनु पर्ने र फुटाउँदा सो टोल क्षतविक्षत हुने त्रास भएपछि बस्तीको बीचबाट सडक लैजाने निर्णय भयो । सो निर्णय कार्यान्वयन गर्दैगर्दा बस्तीको बीचको मानेलाई स्थानान्तरण गर्नुपर्ने अबस्था आउँछ । त्यो बेला सबै धर्मावलम्बीहरु मिलेर मानेलाई विधिवत रुपमा नजिकै स्थानान्तरण गर्छन् ।
माने वौद्धमार्गीको धार्मिक, सांस्कृतिक सम्पदा हो, तर त्यहाँका झण्डै ९९ प्रतिशत बासिन्दा क्रिश्चियन छन् । उनीहरु सबैजना मिलेर मानेलाई ससम्मान अन्यत्र पुनर्निर्माण गरेर धार्मिक सहिष्णुताको नमूना प्रदर्शन गर्छन् । यस्तो खालको मेलमिलाप सबै ठाउँमा आवश्यक छ ।




