
निशुल्क स्वास्थ्य शिविरमा ४ सय बढीले सेवा लिए
गोरखा नगरपालिका–३ नारेश्वरमा भएको निशुल्क स्त्री रोग तथा जनरल स्वास्थ्य शिविर सम्पन्न भएको छ । शनिवार र आइतवार दुई दिन संचालन भएको शिविरमा ४ सय ६० जनाले सेवा लिएका छन् ।
शिविरमा १ सय ३८ जनाले स्त्री रोग सम्बन्धी सेवा लिएको शिविर संयोजक धनबहादुर गुरुङले बताए । ‘१ सय ४३ जनाले भिडियो एक्स–रे सेवा लिए,’ उनले भने, ‘७२ जनाले सुगर र ८० जनाले नाक, कान घाँटी जाँच गराए ।’ शिविरमा ८२ जनाको पाठेघरको क्यान्सर जाँच समेत भएको उनले जानकारी दिए । गोरखा नगरपालिकाको मुख्य आयोजना र ग्रिनसिटी अस्पतालको प्राविधिक सहयोगमा शिविर संचालन भएको हो ।
शिविरमा मुटु फाउण्डेसन नेपाल, एसोसियसन फ्रान्स र नमस्ते प्रोजेक्ट फ्रान्सको प्रायोजन रहेको थियो । शिविरमा बरिष्ठ स्त्री रोग तथा क्यान्सर बिशेषज्ञ डा. अनिता थापा, नाक÷कान÷घाँटी बिशेषज्ञ डा. चेतना पाठक, अल्ट्रासोनोलोजिष्ट डा. बिनोद शाह, ग्रिनसिटी अस्पतालका जनरल फजिसियन डा. मनिष पनेरु र डा. सुप्रत बिष्टको चिकित्सक टोलिले स्वास्थ्य सेवा दिएका थिए ।




