
स्याउ खेतिका लागि आएको ३२ लाख रकम फिर्ता
गत आर्थिक बर्ष २०८०/८१ मा स्याउ खेतीका लागि जिल्लामा आएको ३२ लाख रकम फिर्ता गएको छ । बगैचा स्थापना कार्यक्रम अन्तरगत आएको उक्त बजेट फ्रिज भएर गएको कृषि ज्ञान केन्द्र गोरखाले जनाएको छ ।
बिरुवा नआएका कारण कार्यक्रम कार्यान्वयन गर्न नसकिएको कार्यालयकी प्रमुख मिरा चौधरीले बताइन् । ‘बीउबिजन गृणस्तर नियन्त्रण केन्द्रबाट स्याउको बिरुवा नआएपछि रकम फिर्ता भएको हो’, उनले भनिन्, ‘नेपालमा स्याउको बिरुवा इटालीबाट आउने गर्दछ, यो वर्ष इटलीले स्याउको बिरुवा निर्यातमा प्रतिबन्ध लगाएकाले देशैभरका किसानहरु प्रभावित बनेका हुन् ।’ बिरुवा उपलब्ध नभएपछि किसानबाट लिएको २५ प्रतिशत रकम समेत फिर्ता गरिएको उनले बताइन् ।
‘कृषकको २५ प्रतिशत र जान केन्द्रको ७५ प्रतिशत लागतमा बिरुवा ल्याउने कार्यक्रम थियो, किसानले तिर्नुपर्ने २५ प्रतिशत रकम केन्द्रले लिइसकेको थियो तर अन्तिममा आएर मात्र बिरुवा नआउने कुरा थाहा भयो,’ उनले भनिन् । स्याउ खेतीका लागी चुमनुब्री गाउँपालिकाबाट पाँच जनाले आवेदन दिएका थिए । उनीहरु सबै कार्यक्रमका लागि छनोट समेत भइसकेका थिए ।
मनुब्री–७ का छिरिङ फुन्जो लामा, चुमनुब्री–७ स्थित चुमभ्याली कृषि तथा पशुपन्छि फर्मका रशी दोर्जे लामा, चुमनुब्री–३ स्थित पाटी कृषि तथा पशुपन्छी फर्मका लाङपा गुरुङ, चुमनुब्री–३ कै बिजी कृषि तथा पशुपन्छी फर्मका वसन्त गुरुङ र विशाल मनासलु फर्मका संचालक छिरिङ लामा कार्यक्रमका लागि छनोट भएका थिए । तर कार्यक्रम नै कार्यान्वयन हुन नसकेको कार्यालयले जनाएको छ । छनोट भएका कृषकहरुले चार सय देखि एक हजारसम्म स्याउको बिरुवा माग गरेका थिए ।
चुमभ्याली कृषि तथा पशुपन्छि फर्मका रशी दोर्जे लामाले अन्तिममा आएर कार्यक्रम नहुने भनेको सुन्दा दुख लागेको बताए । ‘मैले यही वैशाखमा पालिकाको १५ प्रतिशत छुट अनुदानबाट २०० बोट स्याउ त रोपिसकेको छु’, उनले भने, ‘स्याउ उत्पादन बढाउनका लागी कृषी ज्ञान केन्द्रसँग थप ४०० बोट स्याउ माग गरेको थिए तर अन्तिममा आएर बिरुवा आएन भन्नुभयो । दुई तीन महिनाको ओहोर दोहोर मात्र भयो, अन्तिममा सरकारले नै बिरुवा ल्याउन सकेन रे’, उनले भने ।




