
गोरखा नगरपालिकाद्वारा ९८ करोड ४६ लाखको बजेट पारित, वित्तिय प्रगति ७०.२८ प्रतिशत
गोरखा नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ का लागी ९८ करोड ४६ लाखको बजेट पारित गरेको छ । पालिकाको सोमबार सम्पन्न १४ औँ नगरसभामा नगर उप–प्रमुख मसली माया थोकरले प्रस्तुत गरेको उक्त बजेट सभाले पारित गरेको हो । चालु तर्फ ६५ करोड ९४ लाख र पुजिगत तर्फ ३२ करोड ५२ लाख रकम विनियोजन गरिएको उपप्रमुख थोकरले बताइन् ।
संघीय सरकारको समानीकरण अनुदान तर्फ २१ करोड १७ लाख, ससर्त अनुदान तर्फ ३९ करोड ४५ लाख र समपुरक अनुदान तर्फ १ करोड ५० लाख गरी जम्मा ६२ करोड १२ लाख प्राप्त हुने उनले प्रस्तुत गरेको बजेट बक्तव्यमा उल्लेख छ । यस्तै, प्रदेश सरकारको समानीकरण अनुदान तर्फ ३ करोड २२ लाख ५५ हजार, विशेष अनुदान तर्फ ४० लाख र समपुरक अनुदान तर्फ ६० लाख गरी जम्मा ४ करोड २२ लाख ५५ हजार रुपैँया प्राप्त हुने उनले बताइन् ।
संघ र प्रदेश सरकारको राजश्व बाडफाड तर्फ १५ करोड ४५ लाख ६१ हजार, पालिकाको आन्तरिक आय तर्फ ७ करोड १५ लाख ९० हजार, बाँकी बैक मौज्जात ६ करोड ५० लाख, जनसहभागिताबाट १ करोड, सडक बोर्डबाट १ करोड र नगर बिकास कोषबाट १ करोड प्राप्त हुने बजेट बक्तव्यमा उल्लेख छ । गोरखा नगरपालिकाले पालिका भित्रका १४ वटै वडाहरुका लागी ८० लाखका दरले बजेट बिनियोजन गरेको छ ।
यसैगरी पालिकाले पुर्वाधार बिकास तर्फ १८ करोड ४ लाख ६७ हजार, सामाजिक बिकास तर्फ ७ करोड ५० लाख ९० हजार, आर्थिक बिकास तर्फ ३ करोड २३ लाख ५० हजार र वन वातावरण तथा विपद् व्यवस्थापन तर्फ १ करोड ४१ लाख ४९ हजार बिनियोजन गरेको छ । सुशाुसन तथा संस्थागत बिकास तर्फ पालिकाले १७ करोड ३० लाख ५० हजार बिनियोजन गरेको उल्लेख छ ।
कृषि तथा पशुजन्य उत्पादनमा आधारित अनुदान कार्यक्रमका लागी पालिकाले २० लाख रकम बिनियोजन गरेको छ । कृषि तथा पशु हाट बजार सञ्चालन तथा व्यवस्थापनका लागी १० लाख, कृषि एम्बुलेन्स संचालन तथा व्यवस्थापनका लागी १० लाख, यान्त्रिकरण अनुदान–कोदो चुट्ने, मकै छोडाउने र आलु रोप्ने कार्यक्रमका लागी १० लाख बिनियोजन गरेको उल्लेख छ ।
कुहिरे भिरमा गोरखा जिल्लाको विध्युतिय नक्सा निर्माणका लागि १५ लाख रकम बिनियोजन गरेको पालिकाको बजेट वक्तव्यमा उल्लेख गरिएको छ । गोरखा नगरपालिकाको भगिनी सम्वन्ध कायम भएको निलकण्ठ नगरपालिका धादिङको निल्कंठेस्वर महादेवको प्रतिमा स्थापनाका लागी २० लाख बिनियोजन गरिएको उल्लेख छ । पर्यटकीय स्थलहरुको डिपिआरका लागी १५ लाख बिनियोजन भएको पालिकाले जनाएको छ ।
गोरखा नगरपालिकाले माध्यमिक तहका विद्यालयहरुमा बुक फ्री फ्राइडे कार्यक्रम संचालनका लागी २० लाखको बजेट बिनियोजन गरेको छ । यस्तै माध्यमिक विद्यालयहरुमा बस व्यवस्थापनका लागी ३० लाख बिनियोजन गरिएको उल्लेख छ । खेलकुद बिकास कार्यक्रमका लागी २० लाख र नगर बासीहरुलाई आभारभूत स्वास्थ्य सेवा प्रदान गर्नका लागी गोरखा अस्पतालसँगको सहकार्य कार्यक्रम अन्तरगत ३० लाख बिनियोजन गरिएको बताइएको छ ।
आर्थिक वर्ष २०८१/८२ मा नगर प्रमुख छात्रवृत्ति व्यवस्थापन कार्यक्रमका लागी साढे २ लाख रुपैँया र नगर प्रमुख कल्याणकारी आर्थिक सहायता कोष संचालनका लागी १५ लाख रुपैँया बिनियोजन भएको छ । यस्तै, नगर उप–प्रमुख महिला भलिबल कप २०८१ कार्यक्रमका लागी ५ लाख र नगर उप–प्रमुखसँग असहाय गर्भवती तथा सुत्केरी सहायता कोष संचालनका लागी ८ लाख बिनियोजन गरिएको बजेट वक्तव्यमा उल्लेख गरिएको छ ।
गोरखा नगरपालिकाको आर्थिक वर्ष २०८०/८१ को वित्तिय प्रगति ७०.२८ प्रतिशत रहेको छ । चालु तर्फ पालिकाले ६९ करोड ९३ लाख ८६ हजार रकम बिनियोजन गरेको थियो । जसको ८३.१९ प्रतिशत अर्थात ५८ करोड १८ लाख २८ हजार मात्र खर्च भएको उल्लेख छ । बिकास निर्माण (पूँजीगत) तर्फ पालिकाले ३२ करोड ७६ लाख ५२ हजार रकम बिनियोजन गरेको थियो । पूँजीगत तर्फ जम्मा ५८.१ प्रतिशत (१८ करोड ९८ लाख ८४ हजार) खर्च भएको पालिकाले जनाएको छ ।




