| सोमवार, कार्तिक २३, २०८३

गोरखा बजारमा सँधै सिसिटिभीको पिरलो

नेपालीमा एउटा उखान छ, ‘हिङ नभए पनि हिङ बाँधेको टालो छ ।’ यससंग मिल्दोजुल्दो प्रसंग सिसिक्यामेरासंग पनि छ । घरमा सिसिक्यामेरा, सिसिटिभी भए पनि नभए पनि ‘सावधान ! तपाईँ सिसिक्यामेराको निगरानीमा हुनुहुन्छ’ भन्ने लेखेर मान्छेलाई सचेत, सजग गराउने गरिन्छ । यसले पनि सिसिटिभी तथा सिसिक्यामेराको महत्व दर्शाउँछ ।

अहिलेको शान्ति, सुरक्षा कायम गर्न ‘सिसिटिभी’ सबैभन्दा प्रभावकारी उपकरणका रुपमा रहेको अभ्यासले देखाउँछ । अपराध अनुन्धान, चेकजाँच तथा खोजतलासमा तालिमप्राप्त, दक्ष जनशक्तिको भूमिका अहम् हुन्छ । त्यसमा जोड दिन मानवेत्तर उपकरणका रुपमा सिसिक्यामेरा तथा सिसिटिभी पनि निकै उपयोगीसिद्ध भएको छ ।

त्यसैले यसलाई सडक, गल्ली, चोक, कार्यालय, कोठाहरु, औद्योगिक, व्यापारिक प्रतिष्ठान, विद्यालय, महाविद्यालय, नीजि घरहरुमा पनि उपयोग गर्ने गरिएको छ । गोरखा बजारमा पनि बिगत पाँचबर्षअघिदेखि सिसिक्यामेरा जडान गरिएको छ । यसको मद्धतले प्रहरीले बजारको अपराध अनुसन्धान तथा नियन्त्रण सिघ्र रुपमा गर्न सफल भएको छ । तर बेला, कुबेला यसमा समस्या आएर हैरानी दिने गरेको छ ।

अहिले पनि गोरखा बजारको धेरै ठाउँका सिसिक्यामेरा बिग्रिएको छ । योसमेत एकबर्षभित्र गोरखा बजारमा चारफेर सिसिटिभी बिग्रिसक्यो । बिग्रिएको लामो समय भइसक्यो, किन्तु आर्थिक अभावका कारण गोरखा बजार क्षेत्रमा जडान भएका सिसिटिभी क्यामेरा मर्मत हुन सकेको छैन । जडान भएका कुल एकसय ८८ क्यामेरामध्य अहिले १ सय ३० वटा मात्र चालु छन् । समयमै मर्मतसम्भारका लागि आवश्यक बजेट समेत अभाव हुने गरेको छ ।

बिग्रने समस्या बढ्न थालेपछि प्रहरी कार्यालय आफैले मर्मतका लागि जनशक्ति तयार गरेको छ । तर सो जनशक्ति सबै समस्या समाधान गर्न समर्थ छैन । सुरुमा जडान गर्दैमा गुणस्तरीय उपकरण प्रयोग गरेको भए यतिधेरै दुख दिने थिएन । साथै बिग्रिएको अबस्थामा तत्काल मर्मत गर्नका लागि पर्याप्त कोषको पनि पहिल्यै व्यवस्था गरिराख्नु पर्दछ ।

प्रतिक्रिया दिनुहोस्