
बाढीले ज्यादुलखोला पुलमा क्षति पुगेपछि सवारी आवागमन ठप्प
भिमसेनथापा गाउँपालिका–७ बोर्लाङस्थित ज्यादुल खोलामाथिको पुलमा बाढीले क्षति पु¥याएको छ । अविरल बर्षाका कारण खोलामा आएको बाढीले बिहीवार पुलमा क्षति पु¥याएको हो ।
पूर्वाधार बिकास कार्यालयबाट विनियोजित ३५ लाख रकमले गत बर्ष उक्त खोलामाथि कल्भर्ट राखेर पुल निर्माण गरिएको थियो । बाढीले कल्भर्टको दायाँवाया ग्याविन वाल राखेर निर्माण गरिएको बाटो बगाएपछि सवारी आवागमन ठप्प भएको वडाध्यक्ष नारायण श्रेष्ठले बताए ।
‘गत वर्ष मात्र ३५ लाख लागतमा ह्युम पाईप राखेर कल्भर्ट निर्माण गरिएको थियोे’, उनले भने, ‘एकवर्ष नबित्दै बाढी आएर कल्भर्टको दाँयाबाँया जोड्ने ग्याविन वाल सहितको सडक बगाएर लग्यो ।’ सो पुल हुदैँ आरुघाट, आर्खेत, नाम्जुङ लगायतका स्थानमा जाने सवारीहरुलाई समस्या भएको उनले जानकारी दिए ।
‘सवारी साधनहरुले वैकल्पिक सडकखण्ड प्रयोग गरिरहेका छन्, क्यामुन्टारका स्थानीयहरुले भने निकै सास्ती भोन्नु परेको छ’, उनले भने । पुल मर्मतका लागी पुर्वधार बिकास कार्यालयलाई आग्रह गरिएको वडाध्यक्ष श्रेष्ठले जानकारी दिए ।




