
तीन दिन भारी बर्षा हुने, सतर्कता अपनाउन आग्रह
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन भारीदेखि अति भारीसम्म वर्षा हुने चेतावनी जारी गर्दै उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।
मनसुन न्यूनचापीय प्रणाली सरदर स्थानबाट नेपालतर्फ सरेकाले महाशाखाले वुधवार विशेष बुलेटिन जारी गर्दै उच्च सतर्कता अपनाउन भनेको हो । महाशाखाका मौसमविद गोविन्द झाका अनुसार हाल मनसुन न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा पूर्वतर्फ अर्थात् नेपालको दक्षिण सिमाना आसपास छ । उक्त रेखा वुधवार रातिबाट अझै नेपालतर्फ सर्ने सम्भावना छ । आज बिहीबारदेखि नेपाल आसपास क्षेत्रको उपल्लो वायुमण्डलमा पश्चिमी न्यून चापीय प्रणाली विकसित हुने सम्भावना देखिएको छ । त्यसैले यी दुवै प्रणालीको प्रभावले असार २६ गते रातिदेखि २९ गते बिहानसम्म नेपालमा मनसुन सक्रिय हुने पूर्वानुमान गरिएको मौसमविद झाले जानकारी दिए ।
सोही विश्लेषणको आधारमा महाशाखाले नेपालका ४३ जिल्लालाई उच्च जोखिममा र २६ जिल्लालाई मध्यम जोखिमको सूचीमा राखेको छ । सूचि अनुसार गण्डकी प्रदेशको गोरखासहित तनहूँ, लम्जुङ, कास्की लगायतका जिल्ला उच्च जोखिममा छन् । गोरखा उच्च जोखिममा रहेकाले सतर्कता अपनाउने जिल्ला प्रशासन कार्यालय गोरखाले आग्रह गरेको छ । वुधवार सार्वजनिक सूचना जारी गर्दै कार्यालयले तीन दिन भारी बर्षा हुने पुर्वानुमान गरिएकाले सतर्कता अपनाउन आग्रह गरेको हो ।
वर्षापछि हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न जोखिमयुक्त क्षेत्रहरुमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण तथा सडकहरुमा असर पर्ने सम्भावना रहेकाले आवश्यक सर्तकता अपनाउन कार्यालयले सार्वजनिक सूचना मार्फत सबैलाई आग्रह गरेको छ ।




