| मङ्लबार, कार्तिक २४, २०८३

पहिरोको मुखमा रेञ्जोम गुम्वा

केही दिनअघिको अबिरल बर्षाका कारण बूढीगण्डकी(स्यार) नदीमा आएको बाढी र पहिरोले उत्तरी गोरखाको रेञ्जोम गुम्बामा क्षति पु¥याएको छ । चुमनुव्री गाउँपालिका–६ साविक चुम्चेत गाविसको रेन्जन गुम्वामा बाढी, पहिरोले क्षति पु¥याएको हो ।

बूढीगण्डकीको बाढीपछि आएको पहिरोले गुम्वा अवस्थित जमिनको भाग कटान गरेको स्थानीय दिपेश लामाले बताए । ‘बुढीगण्डकीले कटान गर्दा गुम्वा अगाडि रहेको जमिन सबै बगाइसक्यो,’ उनले भने, ‘गुम्वाको बिच भागबाट जमिन पूरै चर्किएको छ ।’ जुनसुकै बेला गुम्वा भत्कन सक्ने जोखिम रहेको उनले जानकारी दिए ।

‘गुम्वाको अगाडिको जमिन पहिले ५० मिटर जति थियो, तर बुढीगण्डकीले कटान गर्दै ल्याएर अहिले पहिरो तीन मिटर नजिक आइपुगेको छ । त्यसमाथि पनि गुम्बाको बीच भागबाटै चिरिएको छ,’ उनले भने । उनका अनुसार जोखिममा परेपछि गुम्वाका सामानहरु सुरक्षित स्थानमा सारिएको छ ।

तल्लो भागबाट पहिरो जाने क्रम अझै नरोएिको उनले जानकारी गराए । केही दिनअघि गुम्वा नजिकै रहेको एक घर बुढीगण्डकीले बगाएको थियो । बाँकी एक घर पनि जोखिममा रहेको उनले बताए ।
उक्त गुम्वा २४ बर्ष अघि निर्माण भएको थियो ।

प्रतिक्रिया दिनुहोस्