| मङ्लबार, कार्तिक २४, २०८३

संचालनमा आयो ‘गोरखा उद्यमी कोसेली घर’

जिल्लामा उत्पादित बस्तुहरु प्रवद्र्धन गर्ने उदेश्य सहित ‘गोरखा उद्यमी कोसेली घर’ संचालनमा आएको छ ।
महिला उद्यमी संघ गोरखाले बुधबारदेखि उद्यमी कोसेली घर संचालनमा ल्याएको हो ।

जिल्ला भित्र उत्पादन भएका सामाग्रीहरुको व्यवस्थापन र बजारीकरण गर्ने उदेश्यसहित कोसेली घर संचालनमा ल्याइएको महिला उद्यमी संघ गोरखाकी सचिव सृजना पाण्डेले बताइन् ।

‘जिल्लामा उत्पादन भएका खाद्य बस्तुहरु र हस्तकलाका सामाग्रीहरुको बजारीकरण गर्ने उदेश्य सहित बिक्रि केन्द्रका रुपमा कोसेली घर संचालनमा ल्याएका हौँ’, उनले भनिन्, ‘खाद्य बस्तु, माटोका भाडाकुडाहरु, मुर्ती, हस्तकला लगायतका सामाग्रीहरु कोसेली घरमा राखेका छौँ ।’ पर्यटनहरुको आवतजावतलाई मध्यनजर गर्दै जिल्ला सदरमुकामस्थित ठुलोआँगनमा कोसेली घर संचालनमा ल्याइएको उनले जानकारी दिइन् । स्थानिय तहहरुले सिपमूलक तालिमहरु संचालनमा ल्याउने गरेको तर तालिमपछि बजार नपाएर सिपहरुको सही सदुपयोग हुन नसकेको उनको भनाई छ ।

‘पालिकाहरुले सिलाई कटाई, हस्तकला लगायत सिपमूलक तालिमहरु दिन्छन् तर बजार अभावका कारण सिकेका सिपलाई निरन्तरता दिन नसकेको अवस्था छ’, पाण्डेले भनिन्, ‘उत्पादन भएका सामाग्रीहरुको बजार व्यवस्थापन गर्न तथा जिल्लाको उत्पादनलाई पर्यटन सामू चिनाउन उद्यमी कोसेली घर संचालनमा ल्याएका हौ ।’ कोसेली घरमा कृषि उत्पादनहरु र हस्तकलाका सामाग्रीहरु राखिएको उनले बताइन् ।

‘अहिले सिमित मात्रामा सामाग्रीहरु राखेका छौँ, बिस्तारै सबै पालिकाहरुसँग समोन्वय गरेर सामाग्रीहरु थप्दै लैजाने लक्ष्य छ’, उनले भनिन् ।

वुधवार एक कार्यक्रमका बीच गोरखा नगरपालिकाका प्रमुख कृष्ण राना मगरले उद्यमी घरको औपचारीक उद्घाटन गरेका थिए । महिला उद्यमी संघ गोरखाकी अध्यक्ष रिता रेग्मी अर्यालको अध्यक्षता तथा रानाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रmममा नगरपालिकाकी उपप्रमुख मसली माया थोकर, पर्यटन तथा उद्योग कार्यालय गोरखाका प्रमुख सुर्य भुजेल लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्