
गोरखामा १५ प्रतिशत रोपाई सम्पन्न
गोरखामा हालसम्म १५ प्रतिशत रोपाई सम्पन्न भएको छ । सिंचाइ अभावका कारण अधिकांश ठाउँमा रोपाई हुन बाँकी रहेको कृषि ज्ञान केन्द्रले जनाएको छ । ‘सिंचाइ सुविधा भएको ठाउँमा मात्र अहिले रोपाई भएको छ,’ कार्यालयका सूचना अधिकारी हरिप्रसाद न्यौपानेले भने, ‘पानीको मुल फुटेपछि मात्र धेरै ठाउँमा रोपाई हुनेछ ।’
साउनको दोस्रो हप्ताभित्र जिल्लाको अधिकांश खेतमा रोपाई भइसक्ने उनले जानकारी दिए । ‘कतिपय ठाउँमा मकै भाँचेर धान रोप्ने चलन छ, कतै चैते धान काटेपछि रोपाई गर्छन् त्यसैले पनि केही ढिलाइ भएको हो,’ उनले भने । गतबर्ष जिल्लामा करिव ८० प्रतिशत खेतमा रोपाई भएको थियो । अघिल्लो बर्ष ४९ हजार ४३० मेट्रिकटन धान उत्पादन भएकोमा गतबर्ष उत्पादनमा केही कमी आएको थियो ।
गोरखा नगरपालिका, पालुङटार नगरपालिका, सिरानचोक, अजिरकोट, भीमसेनथापा र गण्डकी गाउँपालिकामा धान खेती हुने गरेको छ । करिव १२ हेक्टर क्षेत्रफलमा धान खेती हुदै आएको बताइएको छ । जिल्लाका किसानले सावित्री, मन्सुली, रामधान, सुख्खा एक/दुई जातका धान लगाउदै आएका छन् । पछिल्लो समय महाराजा, च्याम्पियन, यूएस ३१२ लगायतका हाइब्रिड जातको धान लगाउन समेत सुरु हुन थालेको कार्यालयले जनाएको छ ।




