| सोमवार, कार्तिक २३, २०८३

न भुक्तानी, न प्रयोगमा सलामी धुनका उपकरण

गोरखा नगरपालिका र नेपाली सेनाको संयुक्त पहलमा गोरखाको ठूलोआँगनमा राष्ट्र निर्माता पृथ्वीनारायण शाहको सालिक ठड्याइयो र सो सालिकमा नेपाली सेनाको टोलीले राष्ट्रनिर्माता सलामी दिन सुरु ग¥यो । पर्यटन विकास गर्ने पवित्र उद्देश्य राखिएको थियो । तर सो कार्यक्रम विवादमुक्त हुन सकेन । ठूलोआँगन भत्काएर पृथ्वीनारायण शाहको सालिक ठड्याउँदैमा चरम विवाद भएको थियो । झन् १२/१५ लाख विनियोजन भएको शीर्षकमा झण्डै ४० लाख खर्च भएको बिल पेशपछि विवाद चरमचुलीमा पुग्यो ।
विधि र प्रक्रिया नपु¥याई गरिएको खर्च नगरपालिकाले स्वीकृत गरेन । विवाद र आलोचनामा मुछिएको र विधि प्रक्रिया पनि नपुगेको भन्दै त्यतिबेलाका प्रमुख प्रशासकीय अधिकृत ज्ञाननाथ ढकाल सो खर्च स्वीकृत नगरी सरुवा भए । त्यतिबेला बहालवाला प्रमुख प्रशासकीय अधिकृतले हस्ताक्षर नगरेको बिल भरपाइ सदर गर्न पछि आएका कुनै पनि प्रमुख प्रशासकीय अधिकृत तयार भएनन् ।

त्यसैले बिगत डेढबर्षअघि सम्पन्न भएको कार्यक्रमको रकम अहिलेसम्म भुक्तानी भएको छैन । निर्माण सम्पन्न भएर पनि २०७९ पुस २७ गते उद्घाटन गरिएको सो कार्यक्रमको अहिलेसम्म भुक्तानी भएको छैन । भुक्तानी नपाएका व्यवसायीहरुले अदालतमा मुद्दा दिएका छन् । मुद्दा विचाराधीन छ । यही बेला राष्ट्र निर्माता सलामीका उपकरणहरु बिग्रिसके । मर्मत कसले गर्ने भन्नेमा अन्यौलता छ । एउटा निकायले अर्को निकायलाई औल्याउने क्रम चलेको छ ।

सालिक स्थापना र राष्ट्र निर्माता सलामी धुन बजाउने उपकरण खरिद तथा जडानमा भन्दा अतिथि सत्कार, होटल खर्चमा अधिक खर्च भएको भन्दै महालेखा परीक्षकको कार्यालयले पनि २६ लाख रुपैयाँ बेरुजु देखाएको छ । यसरी पर्यटन विकासको पवित्र उद्देश्य हुँदाहुँदै पनि कार्यशैलीमा भाँती नपुग्दा सो कार्यक्रम विवादयुक्त हुन पुग्यो । जुन जुन ठाउँमा गल्ती भए पनि अब यो कार्यक्रम तुहिनु वा खल्लो हुनुभन्दा यसले निरन्तरता पाउनु पर्छ । त्यसका लागि दीर्घकालीन खाका बनाउनु जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्