| सोमवार, कार्तिक २३, २०८३

सहकारीको व्यवस्थापन अस्तव्यस्त

गोरखामा सहकारी संस्थाको इतिहास खोज्दै जाने हो भने धेरै सहकारीको व्यवस्थापन अस्तव्यस्त रहेको पाइएको छ । नेपालीमा एउटा उखान छ, ‘किन चाउरिस् मरिच् आफ्नै रागले’ । उखानमा भनेजस्तै अधिकांश सहकारी संस्था अस्तव्यस्त हुनुको मूल कारण आन्तरिक व्यवस्थापनको कमजोरी हो ।

गोरखामा सबै प्रकृतिका गरी अहिले करिब पाँचसय ५० वटा सहकारी संस्था छन् । तीमध्य पालिकामा करिब पाँचसय वटा र करिब ५० वटा गण्डकी प्रदेशको सहकारी विभागमा दर्ता भएका हुन् । सहकारीको मर्म र भावना, मूल्य र मान्यताअनुसार करिब तीनसय वटा सहकारी अस्तित्वमा छन् । दुईसय ५० वटा सहकारी अस्तित्वमा छैनन् ।

गण्डकी प्रदेशको सहकारी विभागमा करिब ५० वटा दर्ता भएकामध्य एक तिहाइ जति मात्र नीति, नियम, विधि, विधानअनुसार चलेका छन् । बाँकी मृतप्राय छन् । जिल्लाको सहकारीको अबस्था हेर्न यही रुपरेखा नै काफी छ । सबै सहकारी बचत तथा ऋण सहकारी होइनन्, तर कार्य प्रकृति हेर्दा बचत तथा ऋणको काम गरिरहेको पाइन्छ ।

यहाँ टोल विकास संस्थाले पनि बचत तथा ऋणको काम गरिरहेको पाइन्छ । महिला(आमा) समूहले पनि त्यही प्रकृतिको काम गरिरहेको पाइन्छ । कृषि सहकारी पनि बचत तथा ऋणको काम गर्छन् । अनि बचत लगानी गरेर संकलन गर्न सक्दैनन र सुरु हुन्छ अस्तव्यस्तता । अस्तब्यस्तता सुरु भएपछि ऋण लिनेलाई त हाइमज्जा हुन्छ । सहकारी डुबेपछि त ऋण लिएको पैसा झ्वाम पार्न पाइन्छ भन्ने उनीहरुको बद्नियत हुन्छ ।

बाबुराम भट्टराई अर्थमन्त्री हुँदा ‘गाउँगाउँमा सहकारी, घरघरमा भकारी’ भन्ने अवधारणा अघि सारेका थिए । गाउँको अर्थतन्त्र चलायनमान बनाउने निकाय भनेकै सहकारी थियो । तर बिस्तारै बिग्रँदै गयो र स्थापना भएकामध्य एक तिहाइ मात्र सञ्चालनमा छन्, अरु सबै मृतप्राय छन् । तिनलाई जगाउनु पर्छ । बरु मर्ज गर्नुपर्छ, तर सुदृढ गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्