
जिल्लाका ५१ योजनामा प्रगति शुन्य
प्रतिक्षा आले मगर ।
जिल्लाका विभिन्न स्थानीय तहका ५१ वटा योजनामा प्रगति शून्य रहेको पाइएको छ । महालेखा परीक्षकको ६१ औँ प्रतिवेदनले गरेको विश्लेषणमा गोरखा नगरपालिका, धार्चे गाउँपालिका र चुमनुब्री गाउँपालिकाका गत आर्थिक बर्षका ५१ योजनाहरुमा शून्य प्रगति भएको भेटिएको हो ।
प्रतिवेदनले गोरखा नगरपालिकाका तीन करोड ९४ लाख १२ हजार रुपैयाँ बराबरका १९ योजनामा शून्य प्रगति देखाएको छ । त्यस्तै धार्चेका ३ करोड १८ लाख रुपैँया बराबरका १६ योजना र चुमनुब्री गाउँपालिकाको पनि १६ योजनाहरुमा शुन्य प्रगति रहेको देखाएको छ । भने चुमनुब्रीका १ करोड ८९ लाख ४५ हजार बराबरको १६ योजनाहरुमा शून्य प्रगति देखिएको हो ।
प्रतिवेदनका अनुसार १०/१० लाख रुपैयाँ बजेटका गोरखा नगरपालिकाको अस्लामी गाउँ खानेपानी आयोजना, लखन थापाको शालिक निर्माण र कुवापानी कवर्ड हल निर्माण, प्रतिक्षालयदेखि खोलखोलेसम्म फुटपाथ निर्माण र गुणस्तर परीक्षण मेसिन खरिदको योजनाहरुमा शुन्य प्रगति छ ।
१५ लाख बजेटको पस्लाङ पहिरो हुँदै देउराली डाँडा सडक, देबीस्थान मन्दिर पुननिर्माण तथा संरक्षण र वडा नं ११ मा फुटपाथ निर्माण, १६ लाख रुपैयाँ लागतको गोरखा गेट निर्माण र १९ लाख रुपैयाँ लागतको भीमसेनथापा पार्क क्षेत्रमा फन पार्क र पिक्निक स्पोर्ट निर्माणको पनि प्रगति शुन्य छ ।
नमुना पूर्वाधार तथा रोजगार प्रवद्र्धन कार्यक्रम, रानी पोखरीमा रङ्गीन फाउन्टेन निर्माण, आरुस्वाँरा मेलबिसौँनी धनुबासे माथिल्लो रोकागाउँ भगवतीथान एक घर एक धारा कार्यक्रमहरुको प्रगति पनि शुन्य छ । गोरखा नगरपालिकाको नमुना पुर्वाधार तथा रोजगार प्रवर्दन कार्यक्रम र सडक बोर्ड र नपा साझेदारीका लागि बिनियोजित ८० लाख रकमको योजनाहरुमा पनि शुन्य प्रगति देखिएको छ ।
गोनपा वडा नं ५, ६ र ७ मा कालोपत्रे सडक मर्मत कार्यका लागि प्राप्त ९ लाख र आहाले सामुदायिक भवन निर्माण कार्यका लागि बिनियोजित ९ लाख ७७ हजारको योजनामा पनि शुन्य प्रगति भेटिएको महालेखाको प्रतिवेदमा उल्लेख छ । गोनपाले पूरा गर्न सक्ने योजनाहरुमा छनोट गर्न महालेखाले सुझाएको छ ।
धार्चेको १६ योजनामा शुन्य प्रगति
धार्चे गाउँपालिकाको समपुरक (साझेदारी) कोष र दोभान मोटोरेबल पुल निर्माणका लागि बिनियोजन गरिएको ८०/८० लाख रुपैँयामा शून्य प्रगति भेटिएको उल्लेख छ । यसैगरी ७० लाख रुपैयाँ विनियोजन भएको सडक मर्मत सम्भार/जेसिभि खरिद र जडिबुटी खेती अध्ययन तथा अर्थ प्रशोधन केन्द्र निर्माणको कार्य प्रगति समेत शुन्य रहेको छ ।
६४ लाख रुपैयाँ लागतको पूर्वाधार साझेदारी कार्यक्रमको जडिबुटी खेती अध्ययन, ५०/५० लाख लागत अनुमान गरिएको अर्थ प्रशोधन केन्द्र, पानी प्रशोधनका लागि प्राप्त गाउँपालिका भवन निर्माण गर्ने कार्यक्रमको पनि शुन्य प्रगति भेटिएको महालेखाले जनाएको छ ।
यस्तै, २२ लाख रुपैयाँ विनियोजित फिस ह्याचरी निर्माण, २० लाख रुपैयाँ विनियोजन गरिएको गुम्दा चिस्यान केन्द्र निर्माण, १७ लाख अनुमान गरिएको जनजागृती मावि माछाखोलाको लागि आएको १७ लाख र आकास्मिक सेवा सुचारुका लागि बिनियोजित १५ लाखको योजनामा पनि शुन्य प्रगति भेटिएको उल्लेख छ ।
सामुदायिक स्वास्थ्य भवन खोर्लाबेसी, हिम पाइप खरिद तथा खोला मर्मत खोर्लाबेसी, धार्चे वडा तथा स्वास्थ्य कार्यालयमा इन्टरनेट बिस्तार र गुम्दा कोल्ड स्टोरका लागि प्राप्त भएको १० लाख रकमको योजनाहरुको प्रगति समेत शुन्य रहेको महालेखाले जनाएको छ ।
चुमनुब्रीको शुन्य प्रगतिका योजनाहरु
चुमनुब्री गाउँपालिकाको पनि धेरै जसो योजनाहरुको प्रगति शून्य रहेको उल्लेख छ । आव २०७९/८० मा पालिकाको १६ योजनाहरुमा शून्य प्रगति रहेको महालेखाको विवरणमा उल्लेख छ । उक्त योजनाहरुको प्रगति शून्य रहेको महालेखाले जनाएको छ । पूरा गर्न सक्ने योजनाहरु मात्र छनोट गरी कार्यान्वयनमा लैजान महालेखाले सुझाएको छ ।




