| मङ्लबार, कार्तिक २४, २०८३

किमोलुङ फाउन्डेसनद्धारा बर्थिङ् सेन्टरलाई स्वास्थ्य सामाग्री सहयोग

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका स्थित ३ वटा बर्थिङ् सेन्टरहरुलाई किमोलुङ फाउन्डेसनले स्वास्थ्य सामाग्री वितरण गरेको छ । मंगलबार चुम्चेत स्वास्थ्य केन्द्र, सामागाउँ स्वास्थ्य केन्द्र र लार्के बजार स्वास्थ्य केन्द्रलाई आवश्यक सामाग्रीहरु वितरण गरिएको हो ।

गाउँपालिकाका प्रमुख निमा लामाले सम्बन्धित स्वास्थ्य चौकी रहेका वडाकाका वडाअध्यक्षहरुलाई सो सामग्री हस्तान्तरण गरेका हुन् । पालिकामा संस्थागत सुत्केरीलाई प्रोत्साहन गर्ने उद्देश्यसहित बर्थिङ्ग सेन्टरहरुलाई सुत्केरी गराउँदा आवश्यक पर्ने उपकरणहरु प्रदान गरिएको किमोलुङ फाउन्डेशनका संस्थापक वाङचुक राप्तेन लामाले जानकारी दिए ।

‘डेलिभरी वेड, इन्क्यूवेटर, सक्शन मेसिन, बच्चाको तौल नाप्ने मेसिन र पेंगुइन मेसिन जस्ता सुत्केरी गराउँदा आवश्यक उपकरणहरु वितरण गरेका छौँ’, उनले भने, ‘अबदेखि स्वास्थ्य संस्थामा आउने ९० प्रतिशत महिलाहरुको सेफ डेलिभरी हुन्छ ।’
फाउन्डेशनले यसअघि पनि पालिकाको ७ वटै वडाहरुको स्वास्थ्य केन्द्रहरुमा स्वास्थ्य सामाग्री सहयोग गरेको थियो ।

‘हाम्रो उद्देश्य न्युन आय आर्जन भएका पालिकाबासीहरु स्वास्थ्य सेवाबाट बन्चित हुनु नपरोस् भन्ने हो’, संस्थापक वाङचुक राप्तेनले भने, ‘सडक सञ्जालले नछोएको दुर्गम ठाउँका गर्भवतीहरुलाई सुरक्षित सुत्केरी गराउन सहयोग पुगोस् र नवजात शिशुहरुको स्वास्थ्यमा मद्दत पुगोस् भनेर सहयोग गरेका हौँ ।’

स्वास्थ्य उपकरणहरु प्राप्त भएसँगै सेवा प्रवाहमा धेरै राहात पुगेको चुमनुब्री गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रेम गुरुङ बताउँछन् । ‘यहाँ घरैमा बच्चा जन्माउने प्रचालन छ, महिलाहरुले कमै मात्रामा संस्थागत सुत्केरी गराउँछन्’, उनले भने, ‘आधुनिक उपकरण आएसँगै उनीहरुको बिश्वास जित्न सकिने अपेक्षा लिएका छौँ ।’ स्वास्थ्य उपकरण आएसँगै अब बच्चाहरुमा हाइपोथर्मियाको जोखिम कम हुने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्