| आइतवार, कार्तिक २२, २०८३

तीन वटा मोटरेवल पुल निर्माण, पाँच किलोमिटर सडक कालोपत्रे

यो बर्ष गोरखामा तीन वटा मोटरेवल पुल बनेका छन् । गण्डकी प्रदेश सरकारबाट पूर्वाधार कार्यालय गोरखामार्फत कार्यान्वयन हुने गरी उक्त पुलहरु बनेका हुन् । आरुघाटको आर्खेत खोला, जरेबरको दरौदी नदी र धार्चेको मुग्लुङ खोलामाथि पुल निर्माण भएको कार्यालय प्रमुख गणेश सुवेदीले बताए ।

योबर्ष पाँच किलोमिटर सडक कालोपत्रे समेत भएको उनले जानकारी दिए । उनका अनुसार पालुङटारको राधाकृष्ण कालामाटा पौवाटार बिरुवाटार मिलनचोक मझुवा सडक दुई किलोमिटर, गोरखा नारेश्वर सडक डेढ किलोमिटर र कट्टेलचोकदेखि कट्टेलडाँडासम्मको एक किलोमिटर सडक कालोपत्रे भएका हो ।

शहिद लखनको गैरीचौतारादेखि मैलुङसम्मको चार सय मिटर सडक पनि कालोपत्रे भएको उनले बताए । ‘यो बर्ष तीन किलोमिटर सडक ढलान भयो,’ उनले भने, ‘घ्याम्पेशाल ताकुकोट, अन्नपूर्ण देउराली लगायतका सडकमा ढलान भएको हो ।’ झिंगटे अश्राङ बोर्लाङ, माछाखोला गुम्दा लगायतका सडकमा सात किलोमिटर ग्राभेल भएको उनले जानकारी दिए ।

घ्याम्पेशाल ताकुकोट सडकमा ६ किलोमिटर बेश ओछ्याउने काम सम्पन्न भएको बताइएको छ । चुमनुव्री गाउँपालिकाको बुर्र र प्रोक जोड्ने गरी झोलुङ्गे पुल निर्माणको काम समेत भएको सुवेदीको भनाइ छ । काम अन्तिम चरणमा पुगेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्