| आइतवार, कार्तिक २२, २०८३

धार्चेको बेरुजु : स्वकीय सचिव र कानुनी सल्लाहकारको तलब भत्ता नियम बिपरीत ठहर

धार्चे गाउँपालिकामा नियुक्त भएका स्वकीय सचिव र कानूनी सल्लाहकारलाई तलबभत्ता दिएको रकमलाई बेरुजु देखाएको छ । महालेखा परीक्षकको आर्थिक वर्ष २०७९/८० को प्रतिवेदनमा पालिका प्रमुखको स्वकीय सचिव र कानूनी सल्लाहकारलाई भुक्तानी गरेको तलब भत्ता रकम आठ लाख ८० हजार रुपैयाँलाई बेरुजु देखाएको हो ।

गाउँपालिकाको अध्यक्षले आन्तरिक स्रोतबाट खर्च व्येहोर्ने गरी राजपत्र अनङ्कित द्वितीय श्रेणी वा सो सरहको स्वकीय सचिव राख्न पाउने व्यवस्था रहेको छ । पालिकाले सुनबहादुर गुरुङलाई स्वकीय सचिवको रुपमा नियुक्ति गरी मासिक ३२ हजार ९ सयका दरले तलव भत्ता, चाडपर्व खर्च, पोशाक भत्ता तथा कार्यालय बाहिर रहँदा भ्रमण भत्ता समेत भुक्तानी गरेको प्रतिवेदनले उल्लेख गरेको छ ।

तर स्वकीय सचिवको हाजिरी अभिलेख नराखेको उल्लेख छ । यसरी पालिकाले आव २०७९/८० मा स्वकीय सचिवको नाममा भुक्तानी गरेको ४ लाख २९ हजार रकममा बेरुजु देखिएको छ । ऐनले पदाधिकारीको रुपमा पहिचान नगरेको तथा कर्मचारी सरह नियुक्ती गरेकोमा अभिलेख नराखी तलव भत्ता भुक्तानी भएको रकम नियमसम्मत नभएको महालेखाको विवरणमा उल्लेख छ ।

यसैगरी, पालिकाले कानुनी सल्लाहाकारको नाममा भुक्तानी गरेको तलव र बहस वापतको छुटै भुक्तानी गरेको खर्चमा समेत बेरुजु देखिएको छ । पालिकाले सो वर्ष कानुनी सल्लाहकार पदमा राजु गुरुङलाई नियुक्ती गरी ३ लाख भुक्तानी गरेको र बहस वापत छुट्टै १ लाख ८० हजार खर्च लेखेको उल्लेख छ । यसरी वहस पैरवीको अलग्गै खर्च लेखेको अवस्थामा कानुनी आधार वेगर कानुनी सल्लाहाकार नियुक्ती गरी भुक्तानी गरेको तलव भत्ता रकम नियमसम्मत नदेखिएको महालेखाको टिप्पणी छ ।

हिसाब अद्यावधिक नभएको
पालिकाको राजश्व अभिलेख तथा हिसाब अद्यावधिक नभएको महालेखाले जनाएको छ । महालेखाको अनुसार पालिकाको सफट्वेयरमा आन्तरिक आम्दानी २० लाख ७० हजार रहेको छ । यस्तै, बैँक खातामा पालिकाको कुल आम्दानी ४१ लाख १० हजार देखिएको छ भने सुत्रमा ३९ लाख ८ हजार देखिएको छ । यसरी हिसाब अद्यावधिक नभएका कारण आम्दानीको यथार्थ एकिन गर्न नसकिएको महालेखाले जनाएको छ ।

पालिकाले आव २०७९/८० मा ४१ लाख १० हजार आम्दानी गरेको विवरणमा उल्लेख छ । पालिकाको कुल चालु खर्च २६ करोड ५५ लाख ३० हजार रहेकोमा आन्तरिक आयको हिस्सा १.५ प्रतिशत मात्र रहेको उल्लेख छ ।

अधिक भ्रमणभत्ता
पालिकाले यो वर्ष ३० लाख ३ हजार रुपैँया अनुगमन तथा भ्रमण खर्च बापत भुक्तानी गरेको उल्लेख छ । भ्रमणको उद्देश्य, अनुगमन तथा भ्रमण प्रतिवेदन, अभिलेख भ्रमण, दुरीको विवरण, सवारी साधनको टिकट आदि नराखी उक्त रकम भुक्तानी गरेको महालेखाको विवरणमा उल्लेख छ । अनुगमन तथा भ्रमणको सहि सदुपयोग भएको छ भन्ने आधार नरहको भन्दै महालेखाले यसमा सुधार गर्नुपर्ने निर्देशन दिएको छ ।

असारमा आएर धमाधम खर्च
धार्चेले असार महिनामा मात्र २ करोड ८४ लाख ९९ हजार खर्च गरेको उल्लेख छ । यो पूँजीगत खर्चको ३१.१ प्रतिशत हो । पालिकाले यो वर्ष पूँजीगत खर्च ८ करोड ६० लाख ३१ हजारमध्य तेस्रो चौमासिकमा आएर मात्र ७ करोड ४३ लाख ५१ हजार खर्च गरेको छ । समयमै निर्माण कार्य गराई खर्च गर्न महालेखाले निर्देशन दिएको छ ।

अबण्डामा बजेट पनि बेरुजु
पालिकाले कुनै पनि वार्षिक योजना तथा कार्यक्रममा नराखेर ठूलो राशी अबण्डामा राखेकोलाई पनि महालेखाले आलोचनात्मक सुझाव दिएको छ । पालिकाले एक करोड ९५ लाख रुपैँया अवण्डामा राखेको महालेखाको प्रतिवेदनमा उल्लेख छ । जसले गर्दा वित्तीय अनुशासन र पारदर्शिता कायम नभएको महालेखाको आरोप छ ।

व्यक्तिगत योजनालाई अनुदान
पालिकाले निजि स्वामित्वमा स्थापितसल्लाघारी पशुपंक्षी तथा कृषि फर्मलाई घेरावार गर्न अनुदान दिएको २ लाख ३६ हजारमा बेरुजु देखिएको छ । उल्लेखित व्यवस्थ अनुसार नाफा कमाउने उदेश्यले स्थापित संघ संस्थालान अनुदान उपलब्ध गराउन मिल्ने प्रावधान छैन ।तर, पालिकाले आफ्नो बजेत तथा कार्यक्रममा नै समावेश गरेर नियमबिपरीत अनुदान उपलब्ध गराएको महालेखाले जनाएको छ ।

झोला खरिद पनि बेरुजु !
पालिकाले खरिद गरेको लोगो सहितको झोलामा २ लाख ९९ हजार रुपैँया बेरुजु देखिएको छ । पालिकाले १७५ थान झोला छपाई गर्न गोरखकाली अफसेटलाई ५ लाख ४० हजार भुक्तानी गरेकोमा ७८ थान झोला मात्र पालिकामा प्राप्त भएको र बाँकी झोलाको भरपाई माग गर्दा बाँकी झोला पालिकामा प्राप्त नभएको प्रतिक्रिया दिएको महालेखाको विवरणमा उल्लेख छ । यसरी, सामाग्री प्राप्त नभई ९७ झोलाको प्रतिझोला ३ हजार ९१ का दरले २ लाख ९९ हजार रकमको बेरुजु देखिएको हो । महालेखालेयस्तो प्रवृत्ति मनासिव नदेखिने बताउँदै उक्त सामाग्री कार्यालयमा प्राप्त भई वितरण भएको प्रमाण पेश गर्न निर्देशन दिएको छ ।

वितरणमुखी खर्च
पालिकाले आव २०७९/८० मा अनुत्पादक तथा वितरणमुखी प्रयोजनमा १४ लाख ५० हजार खर्च गरेको उल्ल्ेख छ । यस्ता वितरणमुखी खर्चमा नियन्त्रण गर्न महालेखाले सुझाव दिएको छ ।

टुक्रे योजनामा खर्च
पालिकाले एक लाख भन्दा कम खर्चको साना तथा टुक्रे योजनाहरुमा ६ लाख ७२ हजार खर्च गरेको छ । साना टुक्रे योजनामा वजेट विनियोजन गर्दा दिर्घकालिन उपलब्धी नहुँने तथा यस्ता कार्यमा नियन्त्रण गरी ठुला योजना छनौटलाई प्राथमिकतामा राख्न महालेखाले निर्देशन दिएको छ ।

शून्य प्रगति
पालिकाको १६ वटा योजनाहरुको प्रगति शून्य रहेको उल्लेख छ । पुरा गर्न सक्ने योजनाहरु छनोट गरी कार्यान्वयनमा लैजान महालेखाले सुझाएको छ ।

प्रतिक्रिया दिनुहोस्