| सोमवार, कार्तिक २३, २०८३

खच्चड हिँड्ने बाटो सुरक्षित बनाउनु अपरिहार्य

हाम्रो समाजमा लोकल जातको कुखुरालाई भन्दा ब्रोइलर कुखुरालाई हेर्ने दृष्टिकोण नित्तान्त फरक छ । गाईघोँडालाई भन्दा खच्चडलाई हेर्ने दृष्टिकोण झन फरक छ । प्रविधिको प्रयोगले बनेको भन्ठानेर हो वा अन्य कुनै कारण हो, उनीहरुप्रति माया ममता ज्यादै कम गरेको पाइन्छ । ब्रोइलर कुखुरा काटमार गर्नकै लागि मात्र तथा खच्चड भारी बोक्नकै लागि मात्र जन्मे, जन्माइएका भन्ने ठानेर हो वा अन्य कुनै कारणले हो, उनीहरुप्रति प्रचलित सोच निर्मम हुने गरेको छ ।

दुर्गम भेग, जहाँ गाडी पुग्न सक्दैन, त्यस्तो ठाउँमा खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री ढुवानीमा अति उपयोगी प्राणी हो खच्चड, जसले गर्दा दुर्गम भेगका बासिन्दाको घरघरमा नून, चामल पुग्न सम्भव छ । त्यस्तो उपयोगी प्राणीलाई माया, ममता गर्नुपर्ने, स्याहार सम्भारमा पनि विशेष ध्यान दिनुपर्ने, उनीहरु हिड्ने बाटो पनि सहज हुनुपर्ने, तर त्यस्तो देखिँदैन ।

अस्वभाविक तौलको, घुम्तीमोडमा कट्न नसक्ने खालको जस्ता, रडलगायतका लामो भारी बोकाइने, कठिनमा अति कठिन, जोखिममा अति जोखिम बाटोमा पनि हिँडाइने प्रचलन छ । जोखिममा जान डराए पनि ढुंगामुढा प्रहार गरी अप्राकृतिक रुपमा अघि बढाउन जोड बल गर्ने प्रचलन छ ।

मान्छे हिड्न सक्ने सबै बाटोमा उसको शारीरिक कारणले खच्चड हिँड्न सक्दैन । तर करबल गरी उसलाई उच्च वजनको भारी बोकाएर हिँड्न बाध्य पार्ने प्रचलन छ । यो प्रचलन अन्त्य हुनुपर्छ । बाढी पहिरो, ढुंगा झरिरहने जोखिममा हिँडन बाध्य पार्नु हुदैन । साथै खच्चड हिँड्ने बाटो मर्मत सम्भार गरेर सुरक्षित बनाउनु पर्छ ।

अरु ढुवानीका साधन जान नसक्ने ठाउँमा जाने हुँदा निकै महत्वपूर्ण मानिने खच्चडलाई यथोचित महत्व दिएर वडा, पालिका वा प्रदेश सरकारले पनि उनीहरु हिँड्ने बाटो, वा सामान ढुवानी गर्ने बाटो मर्मत सम्भारमा जोड दिनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्