
सिरानचोकको बेरुजु ५६ लाख ८० हजार, बिकास निर्माणमा न्युन खर्च, संघसंस्था र व्यक्तिहरुलाई आर्थिक सहायता बढी !
प्रतीक्षा आले ।
सिरानचोक गाउँपालिकाको आर्थिक वर्ष २०७९/८० को बेरुजु ५६ लाख ८० हजार देखिएको छ । महालेखा परीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको ६१ औँ वार्षिक प्रतिवेदन अनुसार सिरानचोकले ४ लाख ४८ हजार असुल गर्नुपर्ने देखिएको छ । यस्तै, ४८ लाख ११ हजारको प्रमाण कागजात पेश गर्नुपर्ने र ४ लाख २१ हजार नियमित गर्नुपर्ने सुझाव दिएको छ ।
पालिकाको नाउँमा गतवर्ष ६ करोड ३५ लाख ६१ हजार बेरुजू बाँकी रहेकोमा त्यसमा बढेर पालिकाको कुल बेरुजु ६ करोड ९२ लाख ४१ हजार पुगेको छ ।
बिकास निर्माणमा न्युन खर्च
सिरानचोकले बिकास निर्माणमा न्युन र सञ्चालन खर्च अधिक गरेको महालेखाको प्रतिवेदनमा उल्लेख छ । महालेखाको विवरण अनुसार पालिकाले गतबर्ष जम्मा ५८ करोड ७० लाख ९४ हजार प्राप्त गरेको थियो । जसबाट चालुतर्फ (४३ करोड ७९ लाख अर्थात कूल बजेटको ६९.४ प्रतिशत खर्च गरेको छ ।
पुँजिगत(विकास)तर्फ भने १९ करोड ३ लाख रुपैयाँ अर्थात कूल बजेटको ३०.४ प्रतिशत मात्र खर्च गरेको प्रतिवेदनमा उल्लेख छ । पालिकाले आन्तरिक आय जम्मा ५२ लाख ८२ हजारप्राप्त गरेको महालेखाको विवरणमा उल्लेख छ ।
विदामा बसेको चिकित्सकको नाममा पनि भत्ता ?
पालिकाले अध्ययन बिदामा बसेको कर्मचारीलाई भुक्तानी दिएको ९१ हजार ८ सय ५६ रुपैँयामा बेरुजु देखिएको छ । नियम अनुसार कुनै निजामती कर्मचारी स्थानीय भत्तापाउने स्थानमा बसी काम गरेको भएमा मात्र भत्ता पाउने व्यवस्था रहेको छ । पालिकाले बिदामा बसेका डाक्टर सुजाता नगरकोटी र डाक्टर दीपेन्द्र मग्रातीको नाममा समेत भत्ता भुक्तानी गरेको महालेखाको विवरणमा उल्लेख छ । यसरी नियम बिपरीत भुक्तानी दिएको ९१ हजार आठसय रुपैयाँ फिर्ता गर्न महालेखाले निर्देशन दिएको छ ।
संघसंस्था र व्यक्तिहरुलाई आर्थिक सहायता :
सिरानचोकले स्पष्ट मापदण्ड र कार्यविधि तर्जुमा नगरीपालिकाको कुल आन्तरिक आयको १५.२६ प्रतिशत रकमसंघसंस्था र व्यक्तिहरुलाई आर्थिक सहायतामा खर्च गरेको छ । विभिन्न समयमा कार्यविधि बिनै पालिकाले संघसंस्था र व्यक्तिहरुलाई ९ लाख ९० हजार आर्थिक सहायता वितरण गरेको महालेखाको विवरणमा उल्लेख छ । निश्चित विधि र मापदण्ड वेगर आर्थिक सहायता वितरण गर्ने प्रक्रियामा नियन्त्रण गर्नुपर्ने महालेखाको भनाई छ ।
अनुत्पादक खर्च :
पालिकाले अनुत्पादक क्षेत्रमा खर्च गरेको उल्लेख छ । सरकारी रकम खर्च गर्दा श्रोतको उच्चतम प्रतिफल प्राप्त हुनेगरी मितव्ययिता कायम गर्दै खर्च गर्नुपर्ने प्रावधान छ । पालिकाले गोरखा जेसिज सम्मेलन गर्न एकलाख, नेपाल मगर समाजलाई माघी पर्व मनाउन एकलाख १० हजार, नयाँसाँगु नेवारी गुठीलाई सांस्कृतिक कार्यक्रम गर्न ४० हजार, हर्मी युथ युनाइटेडलाई दशैँ कार्यक्रम आयोजना गर्न ९० हजार, सिरानचोक इसाइ समाजलाई क्रिसमस मनाउन ५० हजार रुपैयाँ अनुदान दिएको छ । अनुत्पादक क्षेत्रमा दिइएको ३ लाख ९० हजार रकम महालेखाको बेरुजुको विवरणमा उल्लेख छ ।
नाफामुलक संस्थालाई अनुदान :
पालिकाले नाफामुलक संस्थालाई अनुदान दिएको २ लाख २५ हजार रकममा बेरुजु देखिएको छ । नाफा कमाउने उद्देश्यले संचालित संस्थालाई अनुदान दिने प्रावधान छैन । तर, पालिकाले गाँखु कृषि सहकारी संस्था लिमिटेडलाई फोटोकपी मेसिन र फर्निचर खरिदका लागि २ लाख २५ हजार अनुदान प्रदान गरेको छ ।
त्यस्तै पालिकाले विद्यालयमा इन्टरनेट सेवाबापत १२ हजार रुपैयाँ दिनुपर्नेमा चम्पावती मावि हर्मीलाई ३७ हजार रुपैयाँ प्रदान गरेको छ । बढी भक्तानी भएको २५ हजार रुपैयाँ असुलउपर गर्न महालेखाले निर्देशन दिएको छ ।
प्रमाण बेगरको खर्च :
पालिकाले प्रमाण बेगर भुक्तानी दिएको ५ लाख रकमको पनि बेरुजु देखिएको छ । कुनै पनि भुक्तानी गर्दा रित पुर्वक जाँची भुक्तानी दिनुपर्ने प्रावधान छ । पालिकाले पश्चिमाञ्चल साँस्कृतिक केन्द्रद्वारा आयोजित ठाडो भाखा गीत प्रतियोगिता सञ्चालनका लागि पाँच लाख रुपैँया भुक्तानी गरेको उल्लेख छ । उक्त प्रतियोगिता नियमावलीमा व्यवस्था बमोजिमसञ्चालन भएको भन्ने खुल्ने प्रमाण पेश गर्नु पर्नेगर्न महालेखाले निर्देशन दिएको छ ।




