| मङ्लबार, कार्तिक २४, २०८३

डेंगु रोग नियन्त्रण सम्बन्धी अभिमुखिकरण

डेंगु लगायत किटजन्य रोगहरुको नियन्त्रण सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । गोरखा नगरपालिकाको आयोजनामा शुक्रवार भएको कार्यक्रममा डेंगु रोग र यसबाट बच्ने उपायका बारे जानकारी गराइएको छ । कार्यक्रममा सहजिकरण गर्दै नगरपालिका स्वास्थ्य शाखा प्रमुख इश्वर रेग्मीले डेंगु एडिज जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने बताए ।

उनका अनुसार यो जातको लामखुट्टेले सामान्यतया उज्यालोमा टोक्ने गर्दछ । ‘बिशेष गरी घाम उदाएको केही समयपछि र अस्ताउनु केही समय अघिसम्म यो लामखुट्टेले टोक्ने गर्दछ,’ उनले भने, ‘सफा पानी रहेको पानीका भाडा, कुलर ट्यांकी, टायर आदिमा यो बस्छ ।’ बिश्वभर ४० प्रतिशत जनसंख्या डेंगुको जोखिममा रहेको बताउँदै उनले हालसम्म नेपाल सहित १२८ देशमा डेंगु भेटिएको जानकारी गराए ।

टाउको दुख्ने, ज्वरो आउने, रिंगटा लाग्ने, जीउ तथा हात दुख्ने, थकान महसुस हुने, वाकवाकी लाग्ने वा बान्ता हुने, आँखाको गेडी दुख्ने, रातो बिमिरा देखिने, शरीरका मासु दुख्ने आदि डेंगुका लक्षण हुन् । यसबाट बच्न लामखुट्टेको बासस्थान खोजी नष्ट गर्नुपर्ने बताइएको छ ।

गमला, टायर, खाली बट्टा, खाली ड्रम, पुराना टायर जस्ता पानी जम्ने भाडाहरुमा पानी जम्न नदिने र प्रत्येक हप्ता जम्मा भएको पानी फाल्ने र भाडा सफा गर्ने गरेमा यो रोगबाट बच्न सकिने रेग्मीको भनाइ छ । पूरा बाहुला भएको लुगा लगाउन, झुलभित्र मात्र सुत्न, घरको झ्यालढोकामा लामखुट्टे नछिर्ने जाली हाल्न र खानेपानी वा ढल चुहिएमा तत्काल मर्मत गर्न उनले सुझाव दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्