
गोरखा–चीन सीमानामा पहिलो पटक संयुक्त सुरक्षा गस्ती(तस्वीरहरु)
उत्तरी गोरखामा स्थापित बोर्डर आउटपोस्ट(बिओपी)को टोली र चिनियाँ सुरक्षाकर्मीको टोलीले पहिलो पटक संयुक्त सुरक्षागस्ती गरेको छ ।
चुमनुब्री गाउँपालिका १ को साम्दोमा स्थापित बिओपीमा खटिएका सशस्त्र प्रहरीको टोली र चिनियाँ प्रहरी टोलीले शुक्रबार पहिलो पटक संयुक्त गस्ती गरेको सशस्त्र प्रहरीको गोरखास्थित कार्यालय प्रमुख सुमन बोगटीले जानकारी दिए । दुवैतर्फका सीमा सुरक्षा प्रहरीका इञ्चार्ज इन्स्पेक्टर नेतृत्वको टोलीले संयुक्त गस्ती गरेको उनले बताए ।
उनीहरुले रुइला भञ्ज्याङस्थित ३५ नंबर सीमास्तम्भ आसपास गस्ती गरेका हुन् । रुइलाभञ्ज्याङ दुई देश बीच आवतजावत गर्ने मौसमी नाका हो । सो नाका बिगत पाँच बर्षदेखि बन्द अबस्थामा छ ।


गस्तीका क्रममा दुवैतर्फका सुरक्षाकर्मीका बीच अनौपचारिक छलफल कार्यक्रम पनि भएको थियो । कार्यक्रममा सीमा क्षेत्रमा अवाञ्छित गतिविधि गर्न पूर्ण रुपमा निषेध गर्ने बारेमा छलफल भएको थियो । साथै नियमित सम्पर्क र समन्वयमा रही आपराधिक गतिविधि नियन्त्रण गर्ने समझदारी बनेको डिएसपी सुमन बोगटीले जानकारी दिए ।
सीमा सुरक्षाका लागि सरकारले यही जेठको १३ गते साम्दोमा बिओपी स्थापना गरेको थियो ।





