
एउटै वडामा धेरै मृगौला पिडित किन हुन्छन् ?
आरुघाट गाउँपालिका वडा नं. ३ को स्वाँरा गाउँमा एउटै गाउँमा धेरै जना दृष्टिविहिन छन् । एउटै गाउँबस्तीमा धेरै दृष्टिविहिन भएपछि सरकारले त्यस गाउँमा दृष्टिविहिनका लागि विशेष विद्यालय निर्माण गरेको छ । दृष्टिविहिनहरुलाई बस्ने र खाने सुविधासहित त्यहाँ पढाइ हुन्छ । त्यसका लागि सरकारी तथा अन्य गैरसरकारी संघ संस्थाहरुले साथ र सहयोग गरिरहेका हुन्छन् ।
यस्तै एउटै समस्याबाट प्रताडित गाउँबस्ती छ, धार्चे ७ । यहाँका लापुगाउँ, लापुवेशी र भीरकुनामा छ जना मृगौला पिडित छन् । उनीहरु सबै अहिले डाइलासिस गरिरहेका छन् । आर्थिक अभावले ग्रस्त उनीहरुका लागि स्थानीयबासीले विभिन्न अभियान चलाएर अर्थ संकलन गरिरहेका छन् । एक, दुईजनालाई भए राहत संकलन गर्न पनि जसोतसो सहज हुन्थ्यो, तर एउटै गाउँमा लगालग एउटै समस्या भएपछि आर्थिक सहायता जुटाउने अभियान चलाउन पनि आयोजकहरुलाई कैयौँ दुखसास्ती झेल्नु परेको छ ।
अर्थ संकलन त छुट्टै पाटो भयो । स्थानीय युवावर्गले जसोतसो जुटाइरहेकाछन् । समस्या त किन एउटै गाउँमा एकै प्रकृतिका रोगी धेरै हुन्छन् ? भन्ने सवालको जवाफ खोज्न छ । के त्यहाँको खानेकुरा, पानी वा यस्तै केही साझा समस्या त छैन ? सोधखोज गर्नु जरुरी छ । यसका लागि विज्ञ, विशेषज्ञ झिकाएर त्यहाँको वातावरण बुझ्नु जरुरी छ ।
त्यसका लागि सबैभन्दा महत्वपूर्ण भूमिका गाउँपालिकाका अध्यक्षको हुन्छ । अध्यक्षले विज्ञ, विशेषज्ञ झिकाएर त्यहाँ मृगौलाको रोगी बढ्नुको चुरो कारण पत्ता लगाउनु जरुरी छ । नत्र अज्ञानताका कारण अझै धेरै जना मृगौलाका रोगी बन्ने खतरा छ ।
यस विषयमा सदरमुकामस्थित स्वास्थ्य कार्यालयको चासोको पनि जरुरी छ ।




