
सहिद लखनको बेरुजु ६७ लाख : आफ्नै गाडी हुँदाहुँदै भाडाखर्च देखाइयो, अनुत्पादक अनुदान पनि बेरुजु
सहिदलखन गाउँपालिकाको आर्थिक वर्ष २०७९/८० मा ६९ लाख ८० हजार बेरुजू देखिएको छ । महालेखा परिक्षकको कार्यलयले हालै सार्वजनिक गरेको ६१ औँ वार्षिक प्रतिवेदन अनुसार सहिदलखनले १ लाख ९९ हजार रुपैयाँको प्रतिक्रिया पठाएको छ । जसमा २० लाख ३९ हजार असुल उपर गर्नुपर्ने छ भने ४३ लाख ११ हजारको कागजात पेस गर्नुपर्ने भनी उल्लेख छ । यस्तै, ४३ लाख ११ हजार र४ लाख ३१ हजार समेत रु ६७ लाख ८१ हजार नियमित हुनुपर्नेभनी सुझाव दिएको छ ।
सहिदलखनको नाउँमा गतवर्ष ६ करोड १५ लाख ९५ हजार बेरुजू बाँकी रहेकोमा त्यसमा बढेर अब कुल बेरुजु ६ करोड ८३ लाख ७८ हजार रहेको छ ।
नियम बिपरित शिक्षक नियुक्ती
पालिकाले नियम बिपरित शिक्षक नियुक्ति गरी प्रतिमहिना रु ३० हजार दुईसयका दरले पालिकालाई व्यायभार बढाएको महालेखा प्रतिवेदनमा उल्लेख छ । सो शीर्षकमा १० महिनाको तलव भत्तामा तीन लाख २ हजार बेरुजु देखिएको छ । शिक्षण सहयोग अनुदान कार्यक्रम कार्यान्वयन पुस्तिका, २०७९/८० अनुसार आधारभूत तह कक्षामा अङ्ग्रेजी, गणित र विज्ञान विषयमा शिक्षण सहयोग अनुदान शून्य दरबन्दी भएका विद्यालयलाई न्यूनतम एक शिक्षक बराबरको अनुदान उपलब्ध गराउने व्यवस्था रहेकोछ । पालिकाले शिक्षक भएको पिपलापोखरी आधारभुत विद्यालयलाई शिक्षण सहयोग शिक्षिका नियुक्त गरी बढाएको व्यायभारलाई महालेखाले बेरुजु देखाएको हो ।
यस्तै, पालिकाले खर्च शीर्षक फरक पारी गरेको खर्च एक लाख २९ हजार रकममा पनि बेरुजु देखिएको छ । पालिकाले पानी तथा विद्युत शीर्षकमा विनियोजन बजेट ईन्धन शीर्षकमा एकलाख २९ हजार ३७३ रुपैयाँ खर्च गरेको छ । यसरी शीर्षक फरक पारी गरिएको खर्चलाई महालेखा प्रतिवेदनले अनियमित देखाएको छ । त्यस्तै आर्थिक कार्यविधि तथा उत्तरदायित्व ऐन २०७६ अनुसार सरकारी रकम खर्च गर्दा उच्चतम प्रतिफल प्राप्त हुनेगरी खर्च गर्नु पर्ने उल्लेख छ । तर सो पालिकाले गोरखा जेसिजलाई जेसिज स्मारीका प्रकाशन वापत एकलाख र हिमालयन युवा क्लवलाई माघे सक्रान्ति मेला आयोजना गर्न एकलाख ७५ हजार अनुदान दिएको छ । यसलाई महालेखाले अनुत्पादक खर्च ठहर गरेको छ ।
आर्थिक कार्यविधि वित्तिय उत्तरदायित्व ऐन २०७६ अनुसार सरकारी रकम खर्च श्रोतको उच्चतम प्रतिफल प्राप्त मितव्ययिता मितव्ययिता कायम खर्च गर्नु पर्ने उल्लेख छ । पालिकाको आफ्नो एउटा मोटर गाडी र अर्को भाडामा लिएको मोटर गरी २ वटा मोटर हुँदाहुँदै पनि स–साना प्रकृतिका काम, आउजाउ लगायतका काममा भाडा वापत रकम रु ७ लाख ५९ हजार ४०० खर्च गरेको छ । यसरी पालिकाकै मोटर हुदाहुदै साना काममा ठुलो रकम खर्च हुनुले मितव्ययिता नअपनाएको भन्दै महालेखाले सच्चिन भनेको छ ।
लाभग्राहीको अभिलेख सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि, २०७७ को अनुसार भत्ता पाउने लाभग्राहीको मृत्यु भएमा, एकल महिलाको विवाह भएमा, वालबालिकाको हकमा पाँच बर्ष पूरा भएमा, प्रणालीबाट लगत कट्टा गर्नु पर्ने उल्लेख छ, तर त्यसो नगरी दोहोरो अभिलेखको सम्बन्धमा यकिन गरी दोहोरो भुक्तानी भएको १ लाख ९८ हजार ३८४ रुपैयाँ असुल उपर गर्न महालेखाले सुझाएको छ ।
सार्वजनिक खरीद २०६३ को दफा ८ र सार्वजनिक खरीद नियमावली २०६४ नियम ३१ अनुसार कुनै मालसामान १० लाखसम्म सोझै खरिद गर्न पाउने व्यवस्था छ । १० देखि २० लाखसम्म सिलवन्दी कोटेशन र सो भन्दा बढीको खरीदमा बोलपत्रको माध्यमबाट गर्नुपर्ने छ तर, यस पालिकाले प्रचलित ऐन नियमावली विपरीत २१ लाख ७५ हजारको फर्निचर फिक्चर्स, २३ लाखको मेसिनरी सामान खरिद गर्दा टुक्रा टुक्रा पारी खरिद गरेको पाईएकोले प्रतिस्प्रर्धावाट खरिद कार्य गरी मितव्ययिता कायम गर्नतर्फ ध्यानदिनुपर्ने देखिएको महालेखाले जनाएको छ ।
त्यस्तै सामाजिक सुरक्षा भत्ता वितरण गरेर बाँकी रहेको ७ लाख ८४ हजार रुपैयाँ फिर्ता हुन बाँकी रहेको तर फिर्ता नभएकाले सो रकम असुल गरी संघीय संचितकोष दाखिला गर्न निर्देशन गरेको छ ।




