| मङ्लबार, कार्तिक २४, २०८३

एउटै वडामा मृगौला रोगका ६ जना बिरामी

मेलिना बराम ।
सुन्दा पनि आङ सिरिङ भएर आउने ११ वर्षको कलिलो उमेरमै धार्चे गाउँपालिका वडा नं. ७ लापुकी अनुजा गुरुङ मृगौला फेल (किड्नी फेल)बाट पिडित बनेकी छिन् । सानै उमेरमा उनको बाबुको मृत्यु भएको थियो । बाबुको मृत्युपछि अभिभावकविहिन बनेकी उनी आमासँगै सदरमुकाम झरिन् । अहिले उनी समयमा नै उपचार नपाए ज्यानै जाने रोगबाट ग्रसित बनेकी छिन् । अनुजाको पटन अस्पाताल काठमाडौंमा डायलसिसको लागी उपचार प्रक्रिया सुरु गरिएको वडाध्यक्ष राकेश गुरुङले बताए । अनुजा सदरमुकामको छहरेस्थित बाल मन्दिर माविको कक्षा ५ मा अध्ययन गर्छिन् ।

सोही वडाकको लापुवेशीस्थित प्रभात किरण माविको कक्षा आठमा अध्यायनरत १५ वर्षीया रोजिना गुरुङ पनि मृगौलाफेल भएर उपचाररत छिन् । उनी अहिले डायलसिसको क्रममा छिन् । उनी मासिक नियमित १० हजार रुपैयाँको औषधी सेवन गर्ने गर्छिन् । रोजिनाको उपचारको लागि विद्यालयले नै सामाजिक सञ्जालमार्फत आर्थिक संकलन अभियान चलाएको थियो । सो अभियानबाट संकलन भएको रकमबाट उनको उपचार भइरहेको प्रधानाध्यापक जीव गुरुङलाई उधृत गर्दै वडाअध्यक्ष राकेश गुरुङले बताए ।

सोही वडाको लापुगाउँकै उषा गुरुङ (नाम परिवर्तित) पनि सोही रोगबाट ग्रसित छिन् । प्रारम्भिक चरणकी बिरामी उनको परिवारले नै उपचार गरिरहेको छ । सोही वडाको खानीगाउँका करिब ५० वर्षीय सुनार गुरुङलाई पनि मृगौला फेलको समस्याले गाँजिरहेको छ । उनी बिगत करिब दुई बर्षदेखि यो समस्याबाट ग्रसित बनेका छन् । आर्थिक अबस्था कमजोर रहेकाले उनका आफन्तजनले सामाजिक सञ्जालमार्फत उनको उपचार खर्चका लागि आर्थिक संकलन अभियान सञ्चालन गरेर केही रकम जोरजाम गरेका छन् ।

मृगौला रोग पहिचान भएका धार्चे ७ कामध्य भिरकुनाका जयराम गुरुङ पहिलो बिरामी हुन् । उनलाई करिब ५ वर्ष अघि यो रोग देखा परेको थियो । गुरुङ अहिले करिब ३५ वर्षका भए । उनको उपचारका लागि पनि आफन्तजन तथा साथीसंगीले सामाजिक सञ्जालमार्फत सबैमा आव्हान गरेका थिए ।

यसको तीन वर्षको अन्तरालमा लापु गाउँका ४४ वर्षीय सूर्यलाल बि.क मा यो रोग देखा परेको थियो । उनी पनि हाल मृगौला रोगको पिडित भएर दैनिक औषधि सेवन गर्दै आएका छन् । सुनार गुरुङ, जयराम गुरुङ, सूर्यलाल बि.क र अनुजा गुरुङले भने सरकारले मृगौला रोगीहरुलाई उपलब्ध गराउने सेवा सुविधा पनि लिदैँ आएका छन् । बिकमा यो रोग देखा परे यता क्रमश उनी सहित वडाका ६ जनालाई यो रोग लागेको हो ।

जयराम र सूर्यलाललाई रोग देखा पर्नुको अन्तराल धेरै भएता पनि दुईवर्षभित्र छ जनामा रोग देखिनु भनेको भयवह स्थिति भएको वडाअध्यक्ष राकेश गुरुङको भनाइ छ । यो रोग किन के कारणले बढ्दै छ भन्ने बारे केही जानकारी नभएको वडाध्यक्ष गुरुङले जानकारी दिए । कतिपय व्यक्तिले समस्या खुलाउन नखोज्ने समेत उनले बताए । ‘हाम्रो वडामा किन मृगौलाका बिरामीको संख्या बढ्दै गएको हो, खोइ कुन्नी ?’ उनले भने ।

वडामा संक्रमितको संख्या धेरै भएको प्रति उनले चिन्ता व्यक्त गरे । वडामा भएका मृगौला रोग पिडितहरुका लागि आर्थिक सहयोग समेत जुटाउने क्रम जारी रहेको उनले बताए । संकलन भएको आर्थिक सहयोग केही दिनमा बिरामीहरुलाई वितरण गर्ने तयारीमा समेत रहेको उनले जाानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्