
लक्ष्मी कन्स्ट्रक्सनलाई कालोसूचिमा राख्न सिफारिसको तयारी
शहीदलखन गाउँपालिकाले लक्ष्मी कन्स्ट्रक्सनलाई कालोसूचिमा राख्न सिफारिसको तयारी गरेको छ । पालिकाको वडा नम्वर १ को कार्यालय भवन निर्माणको जिम्मा लिएर अलपत्र पारेको भन्दै पालिकाले कारवाहीका लागी सिफारिस गर्नै तयारी गरेको हो ।
शुक्रवार सार्वजनिक सूचना जारी गर्दै पालिकाले वडा कार्यालय भवन निर्माणका लागी थप गरिएको म्यादमा समेत काम नसकेको र म्याद थपका लागि कार्यसम्पादन जमानत पेश नगरेको जनाएको छ ।
गोरखा नगरपालिका–६ स्थित उक्त निर्माण कम्पनी र पालिका बीच वडा कार्यालय भवन निर्माणका लागी २०७९ साल बैशाख १ गते सम्झौता भएको थियो । समयमै काम सम्पन्न नगरेर थप भएको म्यादमा पनि काम नसकेको र म्याद थपका लागी कार्यसम्पादन जमानत समेत पेश नगरेको प्रमुख प्रशासकीय अधिकृत बाबुराम मगरले बताए ।
‘पाँच दिनभित्र कार्यसम्पादन जमानत सहित कार्यालयमा सम्पर्क गर्न भनेर जेठ ४ गते पत्राचार समेत ग¥यौ,’ उनले भने, ‘तोकिएको समयभित्र कार्य सम्पादन जमानत पेश नगरेकोले बिहीवारको गाउँ कार्यपालिकाको बैठकले उक्त ठेक्का रद्द गरी कारवाहीको लागि कालोसूचीमा राख्न किन सिफारिस नगर्ने र कानून बमोजिम अन्य कारवाही किन नगर्ने भनी लिखित स्पष्टिकरण माग गरेका छौँ ।’
सात दिनभित्र कारणसहित कार्यालयमा उपस्थित भएर लिखित जवाफ दिन पालिकाले भनेको छ । अन्यथा कानून बमोजिम कारवाही प्रक्रिया अघि बढ्ने बताइएको छ । लक्ष्मी कस्ट्रक्सनलाई यसअघि सार्वजनिक अनुगमन खरिद कार्यालयले कालोसूचीमा राखिसकेको छ । सिरानचोकको सडक स्तरोन्नतीको योजना लिएर वेपत्ता बनेको भन्दै कार्यालयले कालोसूचिमा राखेको हो ।




