
विद्युत बाल्ने अनि महशुल नतिर्ने ?
विद्युत प्राधिकरण गोरखा वितरण केन्द्रले महसुल नबुझाउने सेवाग्राहीहरुको धमाधम लाइन काटिरहेको छ । केन्द्रले साउन यता मात्रै १४ सय महशुल नतिर्ने सेवाग्राहीहरुको विद्युत लाइन काटेको हो ।
लाइन काट्न थालेपछि प्राधिकरणले यो अवधिमा १ करोड ३३ लाख ५ हजार चार सय ७४ रुपैँया महसुल संकलन गरेको छ । लाइन काटिनेमा गोरखा बजारका उपभोक्ता पनि छन् । अहिले के सुगम, के दुर्गम, के सहरबजार के गाउँघर सबैतिर शिक्षित, सभ्य, स्मार्ट नागरिकहरु हुन्छन् ।
सूचना, प्रविधिको विकाससंगै अधिकांशमा जागरण, सचेतना जागिसकेको देखिन्छ । त्यसमाथि पनि सदरमुकाम बजार त उच्च शिक्षित, अझै सभ्य, उच्च चेतना भएकाहरुको केन्द्र हो भन्ने मान्यता पाइन्छ । तर सदरमुकाम बजारकै ग्राहकले विद्युत महशुल नतिरेर लाइन काटिएको खबर सुन्नुपर्दा लाजमर्दो हुने रहेछ ।
लापार्बाही गरेर महशुल नतिर्ने, नतिर्ने बद्नियत राखेर महशुल नतिर्ने, चोरेर उपभोग गर्ने नियत भएकाहरु, लाइन नकाटेसम्म पैसा नतिर्ने, बिर्सेर नतिर्नेहरु विभिन्न प्रकृतिका खराब ग्राहकहरु प्राििधकरणका हुने गर्छन् । त्यसैले प्राधिकरणले दुई महिनासम्म महसुल नबुझाउने बित्तिकै लाइन काट्ने कर्मचारी पठाइहाल्छ ।
यस्तो अवस्थामा सेवाग्राहीहरुले प्रावधान अनुसार २५ प्रतिशत जरीवाना तिर्ने गरेका छन् । यसरी लाइन काटिदिदा सेवाग्राहीहरुले बाँकी महसुल, लाइन काट्दा र पुनः जोड्दा लाग्ने खर्च र महसुलको २५ प्रतिशत रकम जरिवाना स्वरुप बुझाउनु पर्ने हुन्छ । गत वर्षभन्दा यो वर्ष लाइन काटिने सेवाग्राहीको सङख्या बृद्धि भयो ।
गोरखा वितरण केन्द्रका ६० प्रतिशत सेवाग्राहीहरुले अनलाईन मार्फत विद्युत महसुल तिर्न थालिसकेका छन् । उनीहरु प्राधिकरणका स्मार्ट ग्राहक हुन् । प्रविधिले महशुल तिर्ने प्रक्रियालाई सरलीकृत गर्दै लगेको छ । यस्तो अबस्थामा पनि विद्युत उपभोग गर्ने तर महशुल नतिर्ने गर्नु दुखद हो । तसर्थ महशुल तिरेर स्मार्ट उपभोक्ता बन्नु आजको आवश्यकता हो ।




