
महशुल नतिर्नेको लाइन काट्दै प्राधिकरण, साउनयता १४ सयको लाइन काटियो
विद्युत प्राधिकरणले महसुल नबुझाउने सेवाग्राहीहरुको लाइन धमाधम काट्न थालेको छ । सदरमुकाम स्थित गोरखा वितरण केन्द्रले महसुल नबुझाउने सेवाग्राहीहरुको घरघरमा पुगेर विद्युत लाइन काट्न थालेको हो । केन्द्रले साउन यता १४ सय सेवाग्राहीहरुको विद्युत लाइन काटेको नेपाल विद्युत प्राधिकरण, गोरखा वितरण केन्द्रका प्रमुख चिज बहादुर गुरुङले जानकारी दिए ।
जसबापत प्राधिकरणले १ करोड ३३ लाख ५० हजार चार सय ७४ रुपैँया महसुल संकलन गरेको छ । बजार क्षेत्रका सेवाग्राहीहरु समेत लापरबाही गरेर महसुल नबुझाउने हुँदा विद्युत लाइन नै काट्नु पर्ने अवस्था आएको उनको भनाई छ । ‘कतिपय लाइन नकाटेसम्म पैसा नतिर्ने पनि हुन्छन्’, उनले भने, ‘त्यसैले कार्यालयले २ महिनासम्म महसुल नबुझाउने सेवाग्राहीहरुको लाइन काटिदिने गरेको छ ।’ लाइन काट्ने काम निरन्तर रुपमा चलिरहेको उनले बताए ।
‘कतिपयले महसुल बुझाउन बिर्सेर पनि समय नाघेको थाहा पाउँदैनन्’, उनले भने, ‘त्यस्तो अवस्थामा सेवाग्राहीहरुले प्रावधान अनुसार २५ प्रतिशत जरीवाना तिर्ने गरेका छन् ।’ विजुलीको बिल पछाडि नै सबै नियमहरु उल्लेख गरिदिएको हुँदा प्राधिकरणले बिना सूचना लाइन काटिदिने गरेको उनले बताए । ‘सबै नियमहरु बिल पछाडि नै हुन्छ, तर पनि सेवाग्राहीहरुले लापरबाही गरेर महसुल बुँझाउँदैनन्’, उनले भने, ‘त्येसैले हामीहरुले समय भएसम्म नियमित रुपमा चेकजाँच गरेर अवधि नाध्नसाथ सेवाग्राहीहरुको लाइन काटिदिने गरेका छौँ ।’
यसरी लाइन काटिदिदा सेवाग्राहीहरुले बाँकी महसुल, लाइन काट्दा र पुनः जोड्दा लाग्ने खर्च र महसुलको २५ प्रतिशत रकम जरिवाना बुझाउनु पर्ने उनले बताए । गत वर्षभन्दा यो वर्ष लाइन काटिने सेवाग्राहीको सङख्या बृद्धि भएतापनि रकम भने त्यति धेरै नरहेको उनले बताए । ‘विगत वर्षहरुमा धेरै रकम र्तिन बाँकी रहेकाहरुको लाइन काटिदिएका थियौँ’, उनले भने, ‘यो वर्ष निरन्तर कारबाहीको काम भईरहेकाले सङख्या बृद्धि भएतापनि रकम भने धेरै संकलन भएको छैन ।’
केन्द्रका ६० प्रतिशत सेवाग्राहीहरुले अनलाईन मार्फत विद्युत महसुल तिर्ने गरेको उनले बताए । ‘टाढा टाढाका सेवाग्राहीहरुलाई हामीले अनलाइन मार्फत नै महसुल तिर्नु भन्ने गरेका छौँ’, उनले भने, ‘हाम्रो आधी भन्दा धेरै सेवाग्राहीहरुले अनलाइन मार्फत नै महसुल तिर्ने गर्नुहुन्छ ।’




