
झार उखेलेर झारा टार्दै, प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेट स्वाहा पार्दै
मेलिना बराम।
चौतर्फी आलोचना हुने गरेको प्रधानमन्त्री रोजगार कार्यक्रम यसबर्ष कसरी कार्यान्वयन भइरहेको छ भन्नेबारे स्थलगत अवलोकनका क्रममा बुधबार गोरखा नगरपालिका वडा नम्बर ६ स्थित छहरेमा पुग्दा सो कार्यक्रम कार्यान्वयनको विद्रुप दृश्य देखियो । वडा कार्यालयको सिफारिसमा नगरपालिकाले छनौट गरेका छ जना महिला छहरे सडकको छेउकुनामा झरी परेपछि उम्रिएका झारका मुण्टा तान्दै थिए ।
बेरोजगार युवाले सय दिन काम पनि गरुन्, पूर्वाधारका साधारण काम पनि होओस् भन्ने उद्देश्यले लागु भएको यो कार्यक्रम कार्यान्वयनको स्थलगत पक्ष हेर्दा सरासर बालुवामा पानी हाले सरह देखिएको हो । प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेट गोरखा नगरपालिकामा बिगत बर्षदेखि नै औचित्यविहिन काम गरेर स्वाहा पार्ने गरिएको छ । आर्थिक वर्षको अन्तिमतिर आएर लाभग्राहीहरुले नगरपालिकाले तय गरेको कार्यक्रम अनुसार झार उखेल्दै, झारा टार्दै गरेका हुन् ।
सरकारले नागरिकलाई न्यूनतम रोजगारीको अवसर सिर्जना गर्न भन्दै आर्थिक वर्ष २०७५/०७६ देखि यो कार्यक्रम देशव्यापी सुरु गरेको थियो । तर, कार्यक्रम प्रभावकारी हुन नसकेको भन्दै चौतर्फी आलोचना हुने गरेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि यो चालु आर्थिक वर्ष २०८०/०८१ मा गोरखा नगरपालिकामा ५४ लाख ६० हजार रुपैयाँ बजेट विनियोजन भएर आएको छ । वडा नं. १ र १४ मा भने रोजगार कार्यक्रम नै नभएको नगरपालिकाका प्रधानमन्त्री रोजगार संयोजक सुजन श्रेष्ठले बताए ।
नगरपालिकाको वडा नं. २, ३ र ४ मा प्रधानमन्त्री रोजगार कार्यक्रम र वडाको साझेदारीमा सिढीँबाटो निर्माणको काम भएको उनले जानकारी दिए । बाँकी वडाहरुमा नाला सफा गर्ने मात्रै काम रहेको उनको भनाइ छ । जिल्लाको सदरमुकाम अवस्थित गोरखा नगरपालिका वडा नं. ६, ७ र ८ मा झार उखेलेर सो शीर्षकको बजेट सकिँदै छ । विनियोजन भएर आउने बजेटले हरेकवर्ष वडाभित्र रहेका नालाहरु सफा गर्ने र वरिपरिका झार उखेल्ने काम मात्रै हुदैँ आएको छ ।
सो कार्यक्रमका लागि छनोट भएका लाभग्राहीहरुले काम गर्ने बहानामा झारा टार्ने काम मात्रै गरेका छन् । उनीहरु दिनभरि नाला, चौर तथा रुख मुनिको झार उखेलेर हाजिरी गर्ने गर्छन् । स्थानीय तहले आवश्यकता अनुसारको योजना छनोट गरेर पठाउनु पर्ने व्यवस्था रहेको प्रधानमन्त्री रोजगार कार्यक्रमका उपसचिव बसन्त बहादुर बोहरा बताउँछन् ।
‘यस कार्यक्रमका लागि विशेष गरी स्थानीय तहले नै आवश्यकता अनुसारको योजना छनोट गरेर पठाएको हुन्छ । यस अन्तरगत भौतिक संरचना निर्माण भन्दा पनि मर्मत सम्भारको कामलाई जोड दिइएको हुन्छ’, उनी भन्छन्, ‘कस्तो कार्यक्रम तर्जुमा गर्ने भन्ने स्थानीय तहको जिम्मेवारी हो, तर झार उखेलेर झारा टार्नेचाँहि कार्यक्रमअन्तरगत पर्दैन ।’ कार्यक्रम अन्तरगत हुने काम भौतिक रुपमा देखिने हुनु पर्ने उनले बताए ।
गोरखा नगरपालिका वडा नं. ७ मा चैत अन्तिम सातादेखि दैनिक रुपमा वडाभित्रका मुख्य नालाहरु सफाईको काम हुदैं आएको वडाध्यक्ष विष्णुप्रसाद श्रेष्ठले बताए । कार्यक्रम लागु भएको पहिलो वर्ष वडामा सिढीँ बाटो निर्माणको काम भएको उनले जानकारी दिए । वडाबाट योजना छनोट गरेर पठाउन मिल्ने भए कृषि क्षेत्रमा लागानी हुने गरी योजना पठाउने उनले बताए ।
‘यसको लागि नगरपालिकाले नै योजना छनोट गरेर पठाउँछ, हामीले त वडामा काम गर्नका लागि आएको सिफरिसलाई माथि पठाउने मात्रै हो,’ उनले भने, ‘वडाबाटै योजना छनोट गर्न मिल्ने भए, कृषि क्षेत्रमा लगानी हुने गरी कार्यक्रम बनाउँथ्यौँ, जसले उनीहरुको जीविकोपार्जको स्रोत पनि बन्थ्यो, विकास दिगो पनि हुन्थ्यो ।’ दोस्रोबर्षदेखि नाला सफाईको काम मात्रै हुदैँ आएको अध्यक्ष श्रेष्ठले बताए ।
वडामा प्रधानमन्त्री रोजगार कार्यक्रमका लागी ८ जना लाभग्राही छनौट भएका छन् । नगरपालिकाभित्र ७८ जना छनौट भएका छन् । प्रधानमन्त्री रोजगार कार्यक्रममा दिनको आठ घण्टाका दरले सय दिन काम गर्नु पर्ने हुन्छ । जसबापत नगरपालिकाले प्रतिदिन प्रतिव्यक्ति सातसय रुपैयाँ ज्याला दिने गर्छ । कार्यक्रमका प्रविधिक टोलीले स्थलगत अनुगमन गरेर मात्रै ज्यालाको भुक्तानी दिने गरेको नगरपालिकाका कार्यक्रम संयोजक श्रेष्ठले बताए । त्यहाँ स्थलगत अनुगमन नै भए पनि कुनै अर्थपूण काम भएको भने पाइदैँन ।




