| आइतवार, कार्तिक २२, २०८३

लार्के सडकलाई सरकारको उपेक्षा, बर्षेनी घट्दै बजेट

उत्तरी गोरखाको लाइफलाइन मानिएको लार्के सडकलाई सरकारले उपेक्षा गरेको छ । चुमनुब्रीका बासिन्दाको पहिलो प्राथमिकतामा पर्ने सो सडकलाई सरकारले बर्षेनी बजेट घटाउने गरेको हो । नेपाली सेनाले निर्माण गरिरहेको सो सडकको तीनबर्षको बजेट सिलिङ विश्लेषण गर्दा अहिले दोब्बरभन्दा कम बजेट प्राप्त भएको छ ।

दुईबर्षअघि १५ करोड रुपैयाँ बिनियोजन भएको सो सडकका लागि यो बजेटमा जम्मा सात करोड रुपैयाँ बिनियोजन भएको छ । आर्थिक बर्ष २०८१/०८२ मा कार्यान्वयन गर्ने गरी अर्थमन्त्रालयले जम्मा सात करोड रुपैयाँ विनियोजन गरेको गोरखा सडक योजना कार्यालयले जनाएको छ । दुईबर्षअघि १५ करोड रुपैयाँ विनियोजन भएको सो सडकका लागि चालु आर्थिकबर्ष घटेर जम्मा १० करोड आएको थियो ।

आउँदो आर्थिक बर्ष त्यसमा पनि घटाएर सरकारले जम्मा सात करोड बिनियोजन गरेको छ । आउँदो बर्ष कार्यान्वयन गर्ने गरी बेनिघाट आरुघाट लार्के सडकका लागि कूल ३७ करोड रुपैयाँ बिनियोजन भएको हो । जसमध्य ३० करोड रुपैयाँ गोरखा सडक योजना कार्यालयले कार्यान्वयन गर्नेगरी विनियोजन भएको हो भने सेनाले कार्यान्वयन गर्ने गरी सात करोड रुपैयाँ बिनियोजन भएको गोरखा सडक योजना कार्यालय प्रमुख अमिन्द्र खड्काले जानकारी दिए ।

‘बेनिघाटदेखि नेपाली सेनाले हामीलाई हस्तान्तरण गरेको ठाउँसम्मको सडक स्तरोन्नति गर्न ३० करोड रुपैयाँ विनियोजन भएको छ’, योजना प्रमुख खड्का भन्छन्, ‘कुन खण्डमा कति बजेटबाट के काम गर्ने भन्नेचाहिँ तर्जुमा गर्न बाँकी छ ।’ नेपाली सेनाले अहिलेसम्म ३५ किलोमिटर सडकको ट्रयाक निर्माण गरिसकेको छ ।

२०७४ मा हावाडाँडादेखि लार्केसम्मको सडकको ट्रयाक खन्ने जिम्मा लिएको सेनाले अहिले न्याकफेदीभन्दा माथिसम्म ट्रयाक निर्माण गरिसकेको छ । तिब्बतको सीमाना रुईलासम्मको १५४ किलोमिटरमध्य बेनिघाटदेखि हावाडाँडासम्मको ६२ किलोमिटर खण्ड सडक बिभागले नै निर्माण गरेको थियो । बाँकी ९२ किलोमिटर सडकखण्डमा नेपाली सेनाले काम गरिरहेको हो ।

प्रतिक्रिया दिनुहोस्